काठमाडौं । थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुम्थम भेचायचाइले आफ्नो देश र कम्बोडियाबीच जारी संघर्ष भयानक युद्धमा परिणत हुन सक्ने चेतावनी दिएका छन् ।
दुई देशबीच बिहीबारदेखि जारी सैन्य झडपमा हालसम्म कम्तीमा १६ जनाको मृत्यु भइसकेको र लाखौँ मानिस घरबारविहीन भएको बीबीसीले जनाएको छ । दुई देशबीच एक शताब्दीभन्दा लामो समयदेखिको सीमा विवाद बल्झिएको हो ।
थाइल्यान्डमा उबोन रत्चाथनी र सुरिन प्रान्तमा भएको झडपमा कैयौँ मानिस घाइते भएका छन् र लाखभन्दा बढी विस्थापित भएका छन् । उता कम्बोडियाको ओड्डार मिन्चे प्रान्तमा १,५०० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
सीमा विवादकै विषयमा कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनसँग गरेको फोन कुराकानी सार्वजनिक भएपछि हालै कम्बोडियाको संवैधानिक अदालतले पेटोङटार्न सिनावात्रालाई प्रधानमन्त्री पदबाट निलम्बन गरेको थियो । त्यसपछि उपप्रधानमन्त्री फुम्थम भेचायचाइले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।
थाइल्यान्ड र कम्बोडियाबीच लामो समयदेखि सीमा विवाद छ । यसै क्रममा गत मे महिनामा सीमामा झडप हुँदा एक कम्बोडियाली सैनिक मारिएका थिए ।