काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव क्षत्र कडायतले पाल्पाका राजु गैरेमाथि हेल्मेट प्रहार गरेका छन् । गत निर्वाचनमा पाल्पामा प्रदेश सभातर्फ (क्षेत्र नम्बर–२ (ख) राप्रपाका उम्मेदवार बनेका गैरेले सामाजिक सञ्जालमा अध्यक्षविरुद्ध लेखेको भन्दै कडायतले हेल्मेटले हानेका हुन् ।
बुधबार केही साथीहरूसँगै विशालनगरमा चियागफ गरिरहेको बेला गैरै भएकै ठाउँमा पुगेर कडायतले हेल्मेटले हानेका हुन् । साथीहरूसँगै बसेको उनलाई केही पर छुट्टै लगेर कडायतले हेल्मेटले प्रहार गरेका हुन् । सामाजिक सञ्जालमा लेखेको भन्दै कडायतले हेल्मेटले प्रहार गरेको गैरेले बताएका छन् । उनले भने, ‘सामाजिक सञ्जालमा के पोष्ट गरेको भनेर उसले सोध्यो । मैले गरेको कुन पोष्ट भनेर सोधेँ । किन म माथि आक्रमण भयो, अहिलेसम्म अस्पष्ट छु ।’ उनले प्रहरीमा उजुरी दिएको बताएका छन् ।
कडायतले आफूमाथि कुटपिट गरेको भिडियो उनले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । उनले न्याय नपाए पार्टी कार्यालयमा पासो लगाएर मर्ने चेतावनी दिएका छन् । गैरेले लेखेका छन्, ‘दोषीलाई बचाउन र वार्ताका लागि कसैले प्रयास नगरोस यो ज्यान मार्न आउनेलाई वार्ताले उन्मुक्ति दिन सकिँदैन, राजनीतिक शक्तिको दममा चलखेल नगरियोस् । बचाउने कोसिस नगरियोस्, भगाउने कोसिस नगरियोस् ।’
उनले अगाडी लेखेका छन्, ‘यही पार्टीकै कारण म सबै गुमाईसकेको मान्छे पार्टीकै कारण ज्यान दिनपर्यो भने पनि मलाई कुनै आपत्ति छैन ।’ राप्रपामा १८ वर्ष योगदान दिएको कारणस्वरूप ‘धार्मिक उपहार’ पाएको उनले लेखेका छन् । उनले अध्यक्ष लिङ्देनतर्फ संकेत गर्दै झापाको छुर्पी ग्याङ चलाए जस्तो पार्टी चलाउन नभएको लेखेका छन् ।
लिङ्देनलाई उनले भनेका छन्, ‘अध्यक्षज्यू, वैचारिक तर्क मन नै नपर्ने तपाईं, तपाईंको कार्यशैलीको विषयमा बोल्नै नपाइने, तपाईंको गुणगान गाउने र चाकरी गर्ने मात्र तपाईको नजरमा पाटी कार्यकर्ता हुने अरू सबै तपाईंका दुश्मन ?’