काठमाडौं। तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदै हालसम्म आईपुग्दा कम्युनिस्ट पार्टीमा तिव्र धु्रवीकरणको अवस्था बनेको छ। सर्वोच्च अदालतले नेकपालाई भंग गरिदिएपछि नेकपा एमाले र माओवादी केन्द्र पुराने अवस्थामा फर्किए। त्यस यता एमाले माओवादीमा रहेका नेताहरु कोहि यता त कोहि उता हुनेक्रम चलिरहेको थियो।
माओवादीका प्रभावशाली मानिने केहि नेताहरु प्रचण्डको साथ छाडेर केपी शर्मा ओलीलाई साथ दिन पुगे। यसले माओवादीमा एक प्रकारको धक्का लाग्यो नै। माओवादीका प्रचावशाली नेताहरुलाई आफ्नो पार्टीमा समावेश गर्न सकेका ओलीलाई भने आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले साथ दिएनन्।
केहि समय नेता नेपालले एमाले मै रहेर ओलीका गलत कदमको विरोघ गरिरहे। त्यसबीचमा थुप्रै राजनीतिक घटनाहरु भइरहे। एमालेमा देखिएको अन्तर संघर्षले अन्तत: एमाले अहिले औपचारिकरुपमै विभाजनमा पुगेको छ।
नेता नेपालले एमाले फुटाएर निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन ने दिइसकेका छन्। सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि नेपालले पार्टी विभाजन गरे।
नेपालको सजिलोका लागि सरकारले अध्यादेशमा संसदीय दलमा २० प्रतिशत वा केन्द्रीय कमिटीमा पनि सोहिअनुसार भए पार्टी फुटाउन मिल्ने गरि सजिलो व्यवस्था गरिदिएपछि नेपालले नयाँ दल दर्ता गरे। तर एमालेमा विवादको आगो दन्की रहेका बेला नेता नेपाललाई साथ दिएका प्रभावशाली नेताहरुले पार्टी फुटाउदा भने सहयोग गरेनन्।
युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तले नेपालको साथ छाडे। तर उनीहरुले अहिलेसम्म आफ्नो कित्ता स्पष्ट गरिसकेका छेनन्।
ओली–नेपाल कोहि तिर नलागेका ९ नेताहरुले अहिले पनि आफुहरु एमाले एकताको प्रयासका लागि प्रतिवद्ध रहेको बताने गरेका छन्। औपचारिक विभाजनमै पुगिसकेको नेकपा एमालेमा बिहीबारदेखि तेस्रो धारको जन्म भएको भनेर राजनीतिकरुपमा चर्चा भइरहेको छ।
यी ९ नेताले विहीबार राति अबेरसम्म बैठक गरेर विज्ञप्तिमार्फत आफ्नो पोजिसन स्पष्ट पारेका छन् । उनीहरुले शुक्रबार आफ्नो समूहका केन्द्रीय सदस्यहरुसँग थप छलफल गरेर लाइन स्पष्ट पार्ने निर्णयसमेत गरेका गरिसकेका छन्।
तेस्रो धारका नेताहरुको बटमलाइन
एक– कार्यदलले तयार पारेको १० बुँदे सिफारिस नै एकताको आधार थियो जसलाई नेताहरुले आत्मसात गरेनन् ।
दुई– सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश गलत छ, यो तत्काल फिर्ता लिइनुपर्छ ।
तीन– १४ सांसदलाई पदमुक्त गर्ने ओली पक्षको निर्णय फिर्ता लिइनुपर्छ ।
चार– निर्वाचन आयोगमा अलग दल दर्ताका लागि दिइएको निवेदनबाट माधव नेपाल पक्ष ‘ब्याक’ हुनुपर्छ ।
यस्तो परिस्थितीकाबीचमा पनि के एमाले एकता सम्भव होला? या मध्यमागी नेताहरुले अर्को पार्टी बनाएर जालान? या यी नेताहरु ओली या नेपाल कता लाग्लान भन्ने आम कार्यकर्तामा प्रतिक्षाको विषय बनेको छ।
एमाले उपाध्यक्षसमेत रहेको नेता भीम रावल भने एमाले एकताको सम्भावना अझै देख्छन्। उनी अहिलेको परिस्थिती जस्तो सुकै भएपनि एमाललेलाई एकतावद्ध बनाउने गरि आफु निरन्तर लागि रहेको बताउछन्।
‘म एमाले एक हुनु पर्छ भन्ने मान्यतामा राख्छु। मैले कसैको पक्ष लिएर विरोध या समर्थन गरेको छैन्। मैले गलत कामको विरोध गरेको हो। हिजो केपी ओलीको गलत काममा विरोध गरेको हुँ। आज माधव नेपालले पार्टी फुटाउन खोजेपछि त्यसको विरोध गरेको हुँ। एमाले केपी ओली, माधव नेपाल र भीम रावलको मात्रै होइन्। हजारौँ कार्यकर्ताको रगत पसिनाले बनेको पार्टी हो। हामी एकता हुन्छ, र गर्नु पर्छ भनेर लागिरहेका छौँ।’ रावलले शैली न्युजसंगको कुराकानीमा भने।
उनले यस विषयमा छलफल भइरहेको बताए। हामी साथीहरुका बीचमा छलफल गरिरहेका छौँ। ‘मेरो भनाई के मात्रै हो भने पार्टी फुटाउनु हुँदैन। एमालेलाई एकतावद्ध बनाउनु पर्छ।’ रावलले थपे।
केपी ओली र माधव नेपाल अलग भइसके। उनीहरु आफ्नो अडान अब छोड्लान भन्ने देखिन्न। धेरै टाढा पुगिसकेका छन्। यो बीचमा अब तपाईहरु कसरी अगाडी बढ्ने र तपाईको पोजिसन के हुने? भन्ने प्रश्नमा रावल भन्छन् - ‘जहाँसम्म हुन्छ मिलाउने प्रयास गर्छौ। हामी एकताका लागि लागि रहेका छौँ । दुबै तिर सहमती खोजि रहेका छौँ। यदी दुबैपक्षबाट मिल्ने कुरा भएन भने हाम्रो यात्राका विषयमा स्पष्ट पार्छौँ।’
हिजोसम्म माधव नेपालको पक्षमा रहेका मध्यमार्गी नेताहरुले आफ्नो पोजिसन स्पष्ट पारिरहँदा केपी ओलीको पक्षमा रहेका मध्यमार्गी नेताहरु सुवास नेम्वाङ, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल अब तेस्रो धारमा उभिन्छन् या ओली पक्षमै जालान्, योचाहिँ हेर्न बाँकी छ ।