काठमाडौँ । युक्रेनमा साढे ३ वर्षदेखिको युद्ध अन्त्य गर्ने सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोली फेरेका छन्।
४७ औं राष्ट्रपतिका रूपमा गत जनवरीमा कार्यभार सम्हालेलगत्तै रूस(युक्रेन युद्ध अन्त्य गर्ने कोशिस गर्दै आएका ट्रम्पले शनिबार अलास्कामा रूसी राष्ट्रपतिसँग भएको छलफलपछि भने बोली फेरेका हुन्।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्ता तय भएपछि उनले युक्रेनमा युद्धविराम आफ्नो पहिलो प्राथमिकता हुने बताएका थिए।
पुटिनसँग भेटवार्ता भएपछि भने ट्रम्पले युद्धविरामभन्दा युक्रेनमा स्थायी शान्ति उत्तम हुने बताएका छन्। त्यो प्रस्ताव शनिबारको भेटमा पुटिनले नै गरेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
ट्रम्पले पुटिनसँग सहमति जनाउँदै युक्रेन र उसका युरोपेली सहयोगीहरूले माग गर्दै आएको प्रारम्भिक युद्धविरामबिनै शान्ति सम्झौता खोजिनुपर्ने बताएका हुन्।
युद्धविराम जुनसुकै बेला भाँडिन सक्ने भएकाले स्थायी शान्ति नै उचित हुने उनको भनाइ छ। ट्रम्पको यो भनाइ शिखर सम्मेलन अघिको भन्दा फरक र विपरीत हो। त्यसअघि उनले युद्धविराम नभएसम्म आफू सन्तुष्ट नहुने बताउँदै आएका थिए।
ट्रम्पको प्रस्तावमा जर्मनीका चान्स्लर फ्रेडरिक मर्जले पनि सहमति जनाएका छन्। उनले सोमबार ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प र जेलेन्स्कीको भेटवार्तापछि चाँडै नै पुटिनसहितको त्रिपक्षीय वार्ता तय हुनुपर्ने बताएका छन्।
स्थायी शान्तिका लागि पुटिनले राखेको प्रस्ताव पनि ट्रम्पले जेलेन्स्कीलाई सुनाइसकेका छन्। पुटिनले पूरै दोनेत्स्क प्रान्त दाबी गरेका छन्। जुन मागलाई जेलेन्स्कीले अस्वीकार गरिसकेका छन्।
ट्रम्पले युद्ध अन्त्यका लागि सम्झौता गर्न युक्रेन तयार हुनुपर्ने बताएका छन्। रूसको तुलनामा युक्रेन कमजोर भएका कारण रूसको मागमा सहमति जनाउँदै तत्काल शान्ति सम्झौतामा सहमत हुनुपर्ने उनको भनाइ छ।
जमिन अदलाबदलीबारे युक्रेन अगाडिदेखि नै विपक्षमा छ। उसले कुनै पनि हालतमा रूसलाई आफ्नो जमिन ुदानुमा नदिने बताएको छ। बरू अमेरिका र युरोप मिलेर रूसमाथिको प्रतिबन्ध कडा बनाएर उसलाई युद्धविराममा सहमत गराउनुपर्ने युक्रेनी र युरोपेली नेताहरूको अडान छ।