काठमाडौं । भदौ महिनाका लागि पनि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ ।
२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा साउनको तुलनामा भदोमा ब्याजदर घटेको हो । २० वाणिज्य बैंकमध्ये ११ वटाले साउन महिनाकै दरलाई यथावत् राखे पनि ८ वटाले भने सामान्य घटाएका हुन् । घटाउनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंक रहेका छन् ।
भदौमा सबैभन्दा धेरै व्यक्तिगततर्फको निक्षेपमा स्ट्यान्डर्ड चार्टर्डले १.१३ प्रतिशतले ब्याज घटाएको छ । साउन महिनामा ६.२६ प्रतिशत रहेको ब्याजदरलाई बैंकले भदौका लागि घटाएर ५.१३ प्रतिशतमा झारेको हो । यो बाहेक अन्य सात बैंकको ०.५ प्रतिशतदेखि ०.१ प्रतिशतले ब्याज घटेको छ । अन्य ११ वटा वाणिज्य बैंकले भने भदौ महिनाका लागि ब्याजमा कुनै परिवर्तन गरेनन् ।
बैंकहरूमा कर्जायोग्य रकम पर्याप्त भइरहेको अवस्थामा कर्जा बढाउन ब्याजदर बढाउन सकिरहेका छैनन् । जसले गर्दा भदौमा पनि ती बैंकहरुले पुरानै ब्याजदरलाई निरन्तरता दिएका हुन् । त्यसो त प्रभु बैंकले भने भदौ महिनाका लागि ब्याज १.१ प्रतिशतले बढाएको छ । साउनमा यो बैंकले व्यक्तिगत निक्षेपतर्फ ४.२५ प्रतिशत ब्याज दिँदै आएकोमा साउनमा भने ५.३५ प्रतिशत ब्याज दिने भएको हो ।
समग्रमा साउनको तुलनामा भदौ महिनामा व्यक्तिगत निक्षेपतर्फको ब्याजदर औसतमा ५.५७ प्रतिशत छ । यो साउनको तुलनामा ०.१५ प्रतिशतले कम रहेको छ ।