काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारीसाधन खरिदमा लोन टु भ्यालु रेसियो बढाउनुपर्ने बताएका छन् ।
उनले मंगलबार नाडाको १७औं संस्करणको अटो शो उद्घाटनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलसामु मौद्रिक नीतिको समीक्षाबाट सवारीसाधन खरिदमा लोन टु भ्यालु रेसियो बढाइने विश्वास गरेको बताएका छन् ।
राष्ट्र बैंकले गत फागुनमा विद्युतीय किन्न दिइने कर्जाको सीमा ८० बाट ६० प्रतिशतमा झारेको थियो । नाडाका अध्यक्ष चौधरीले अटो क्षेत्रले मोबिलिटीको क्षेत्रमा सरकारको सारथिका रुपमा काम गरिरहेको बताएका छन् । उनले भने, ‘हामी मोबिलिटीको क्षेत्रमा सरकारको सारथि हो । हामीले युवाहरूलाई रोजगारी दिइरहेका छौं । सीप दिने प्रयत्न गरिरहेका छौं । युवाहरूलाई आफ्नै देशमा केही गर्न हौसला दिने हाम्रो कोसिस छ ।’
उनले थपे, ‘मौद्रिक नीतिको आगामी समीक्षाबाट गाडीको फाइनान्स सुविधा सहज बनाउने हाम्रो अपेक्षा छ । यातायात नीति राम्रो आउने अपेक्षा गरेका छौं ।’ अध्यक्ष चौधरीले अटो क्षेत्रले १० लाखभन्दा बढीलाई प्रत्यक्षरुपमा रोजगारी दिइरहेको बताएका छन् ।