काठमाडौं । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा १७औँ नाडा अटो शो सुरु भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा नेपालकै ठूलो सवारीसाधन प्रदर्शनी मेला सुरु भएको हो । ८ गतेसम्म चल्ने शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रप्रति सरकारको सकारात्मक दृष्टिकोण रहेको स्पष्ट पारेका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘अब कसैले असन्तुष्ट नै हुनुपर्छ भन्ने कसम खाएको छ भने त्यो फरक कुरा हो, तर अहिलेको अवस्था हेर्दा निजी क्षेत्र असन्तुष्ट हुनुपर्ने ठाउँ छैन् ।’ उनले हालै आएको मौद्रिक नीति र त्यसअगाडिको वित्तीय नीति व्यवहारिक र व्यवसायीमैत्री रहेको दाबी गरेका छन् । साथै, उनले स्टार्टअप, इनोभेसन र उत्पादनलाई सरकारले सधैं प्रोत्साहन गर्दै आएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सरकार नेपालको पूर्वाधार विकासमा प्राथमिकताकासाथ लागिरहेको बताउँदै सडक पूर्वाधारहरू क्रमशः सुदृढ र गुणस्तरीय हुँदै गएको बताएका छन् । उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी भएका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नाडा अध्यक्ष करण चौधरीले यसपटक केही नयाँ आकर्षण थप्ने कोशिस गरेको जानकारी दिएका छन् । यसपटकको शोमा अवलोकनकर्ताले दिपलको उड्ने ट्याक्सी, मानवीकृत रोबोटको अवलोकन गर्न पाउने उनले बताएका छन् । भौतिक मन्त्रालयले सवारी आयातसम्बन्धी मापदण्ड तयार गरिरहेको बताउँदै उनले नाडासँग सहकार्य गरेर अघि बढ्ने अपेक्षा गरेका छन् ।
त्यस्तै नाडा र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा चार्जिङ स्टेसन निर्माण भइरहेको बताउँदै उनले चाँडै पूर्वाधारको समस्या हल हुने बताएका छन् । शोमा चारपांग्रे, दुईपांग्रेदेखि तिनका पार्ट्सपुर्जाहरुसम्म प्रदर्शन गरिएका छन् ।