काठमाडौं । १७औँ नाडा अटो शो आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।
यही भदौ ८ गतेसम्म आयोजना सवारी मेला प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । यस पटकको अटो शोको प्रमुख आकर्षणमा दिपल फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट रहेका छन् । शो सुरु भएकै दिन अवलोकनकर्ताको झुकाव अन्य सवारी साधनभन्दा पनि उड्ने कारप्रति बढी देखिन्छ । यो नेपालमा भित्रिएको पहिलो उड्ने कार हो ।
यसले नेपालमै अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीको अभावलाई पूर्ति गरेको छ । फिल्म, युट्युबमा देख्दै आएको उड्ने कार भृकुटीमण्डपको चौरमा छ । आफ्नै आँखाअघि । अटो शो हेर्न आउनेहरूको मुख्य चासो सवारीप्रति धेरै हुने भए पनि शोमा उड्ने कारबाट नजर हटाएर अन्यन्त्र आँखा दौडाउने अवलोकनकर्ता पाउन मुस्किल छ ।
नाडा अटो शो हेर्न आउने अधिकतम अवलोकनकर्ता उड्ने कारले आकर्षित गरेको हो । कार उड्ने र गुड्ने दुवै प्रकारमा डिजाइन गरिएको छ । दुवै उत्तरी नाकामा बाढी र पहिरोका कारण नेपालको भूमि प्रवेश गर्न कारले आफ्नो दुवै क्षमता प्रस्तुत गर्न पाएन ।
राणाकालीन समयमा जसरी नेपालमा गाडी भित्र्याइएको थियो । हाल उड्ने कार पनि सोही शैलीमा भरियाको काँधमा बसेर सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल भित्रिएको हो ।