काठमाडौँ । रूसले युक्रेनमा एक महिनायताकै भीषण आक्रमण गरेको छ। दुई देशबीच युद्धविरामबारे वार्ताको तयारी भइरहँदा रूसले युक्रेनमाथि बिहीबार ठूलो संख्यामा ड्रोन र मिसाइलहरूले आक्रमण गरेको हो।
अमेरिकी टेलिभिजिन नेटवर्क सिएनएनका अनुसार रूसले पूर्वीदेखि पश्चिम युक्रेनका भूभागहरुलाई निशाना बनाएर हवाई हमला गरेको थियो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रातभरिमा ५७४ वटा ड्रोन र ४० वटा मिसाइल रूसतर्फबाट हानिएको बताएका छन्।
हमलामा कम्तिमा ९ जनाको मृत्यु भएको र ठूलो भौतिक क्षति भएको सिएनएनले जनाएको छ। रूसले पश्चिमी युक्रेनमा भएको अमेरिकी स्वामित्वको इलेक्ट्रोनिक सामग्री उत्पादन गर्ने कम्पनी फ्लेक्स लिमिटेडलाई पनि निशाना बनाएको भनेर सिएनएनले लेखेको छ।
फ्लेक्स एउटा अमेरिकी(सिंगापुरेली कम्पनी हो। अमेरिकाको टेक्सासस्थित अस्टिनमा यसको मुख्यालय छ। युक्रेनस्थित अमेरिकी चेम्बर अफ कमर्सका अध्यक्ष एन्डी हन्डरले उक्त कम्पनी युक्रेनमा रहेको अमेरकी लगानीको ठूलोमध्येको कम्पनी रहेको बताएका छन्।