काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्धबारे कडा टिप्पणी गरेका छन् । मंगलबार एक पत्रकारले ट्रम्पलाई सोधे,‘अलास्का जाँदा तपाईंले भ्लादिमिर पुटिनले युद्धविराममा सहमति नजनाए त्यसका गम्भीर परिणामहरू हुने उल्लेख गर्नुभएको थियो । त्यो शिखर सम्मेलनपछिको वार्ता केही पछाडि हट्ने अवस्था आयो । उनी अहिले फेरि समयको दबाबमा छन् ?’
“म त्यो सम्झौता समाप्त भएको देख्न चाहन्छु,” सोमबार भएको लामो मन्त्रिमण्डल बैठकबीच पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले भने, “उनीहरूले जे भने पनि कुनै अर्थ छैन,” ट्रम्पले दृढ स्वरमा भने । उनले अगाडि थपे, “सबैजना केवल नाटक गरिरहेका छन् ।”
उनले सन् २०२२ को सुरुमा पुटिनले बिना कुनै उक्साहट युक्रेनमाथि आक्रमण गरेर सुरु गरेको रूस र युक्रेनबीचको चलिरहेको युद्धको सन्दर्भमा यो कुरा भनेको न्युजविकले उल्लेख गरेको छ ।
“यदि, मैले केही कदम चाल्नुुपर्यो भने मेरो मनमा भएको कुरा धेरै गम्भीर छ । तर, म यो समाप्त भएको देख्न चाहन्छु,” उनले थपे, “मलाई लाग्छ, धेरै तरिकाले उनी त्यहाँ छन् । कहिलेकाहीँ उनी त्यहाँ हुन्छन् र जेलेन्स्की हुँदैनन् । आज हामीसँग को छ ? मैले दुवैलाई एकै ठाउँमा ल्याउनुपर्छ । तर म यो युद्ध समाप्त भएको देख्न चाहन्छु ।”
पत्रकारले सँगै बसेका ट्रम्पका दूत विट्कफलाई प्रश्न गर्दा उनले संक्षिप्त उत्तर दिए, “म तपाईंको कुरासँगै सहमत छु ।” ट्रम्प शान्ति ल्याउन अग्रसर भए पनि पुटिनको ढिलाइले वार्ता अड्किएको छ ।
एपीका अनुसार युद्ध रोक्नेबारे ट्रम्पले केही दिनअघि ठूलो प्रगति भएको घोषणा गरेका थिए । उनले रुसका राष्ट्रपति पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष भेट गराउने प्रयास भइरहेको बताएका थिए । तर, त्यसपछि रूसका विदेश मन्त्री सेर्गेई लाभरोभले जबसम्म युक्रेनले मस्कोका पुराना मागहरू मान्दैन तबसम्म पुटिनले भेट नगर्ने स्पष्ट गरेका थिए ।
पुटिन जेलेन्स्कीलाई मन पराउँदैनन्, त्यसैले भेट्न अनिच्छुक छन् : ट्रम्प
ट्रम्पले रूसी राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्की बीच वार्ता हुन नसक्नुमा पुटिनलाई जेलेन्स्की मन नपर्नु मुख्य कारण भएको अगस्ट २५ मा बताएका थिए । उनले सोही कारण पुटिनले जेलेन्स्की सँग भेट्न अनिच्छुक रहेको बताए ।
यो महिना ट्रम्पले शान्ति सम्झौता गराउने उद्देश्यले पुटिन र जेलेन्स्कीसँग छुट्टाछुट्टै भेट गरेका थिए । तर, कुनै प्रगति हासिल भएको छैन । रूसले युक्रेनी सहरहरूमा आक्रमण जारी राखेको छ ।
“मेरो उनीसँगको हरेक कुराकानी राम्रो हुन्छ,” ट्रम्पले ओभल कार्यालयमा पत्रकारहरूसँग भने ।
“तर त्यसपछि दुर्भाग्यवश किभ वा अन्य कुनै ठाउँमा बम विस्फोट हुन्छ र मलाई त्यसप्रति धेरै रिस उठ्छ । मलाई लाग्छ हामीले यो युद्ध समाप्त गर्नेछौँ । यो जटिल छ । युद्धमा अनौठा कुराहरू हुन्छन्,” उनले भने ।
अगस्ट २५ मा आफ्नो सम्बोधनका क्रममा, ट्रम्पले रूसको युक्रेनविरुद्धको आक्रमण समाप्त गर्ने सम्भावनाबारे परस्पर विरोधी भनाइहरू व्यक्त गरे । उनले युक्रेन र रूसका नेताहरूबीच भेटघाटको व्यवस्था गर्ने योजना बनाएको बताए । तर, पछि यो सम्भव नहुन पनि सक्ने पनि बताए ।
“उनीहरूले एकअर्कालाई वास्तवमै मन पराउँदैनन् । मलाई लागेको थियो, रूस र युक्रेनको विषयमा सबैभन्दा सजिलो हुनेछ, तर व्यक्तिगत मनमुटावले यो जटिल बनेको छ,” ट्रम्पले भने ।
ट्रम्पले अगस्ट १८ मा ह्वाइट हाउसमा जेलेन्स्कीसँग भेट गरेका थिए, जुन पुटिनसँग अलास्कामा भएको उनको पहिलो भेटको तीन दिनपछि थियो । भेटपछि जेलेन्स्कीले युक्रेन मस्कोसँग बिनासर्त वार्ता गर्न तयार रहेको बताएका थिए ।
युक्रेनी नेताले शान्ति वार्ताले रूसले अपहरण गरेका युक्रेनी बालबालिकाको मुद्दा, कब्जा गरिएका क्षेत्रहरूको फिर्ता र युक्रेनको युद्ध प्रयासलाई समर्थन गर्न कोषको विषय सम्बोधन गर्नुपर्ने बताएका थिए ।
जेलेन्स्कीले युरोपेली देशहरू, क्यानडा र जापानसहित ३० भन्दा बढी देशहरू युक्रेनको लागि सुरक्षा ग्यारेन्टीलाई समर्थन गर्न तयार रहेको बताएका थिए । केहीले शान्ति सेना, गुप्तचर र हवाई रक्षा सहयोग प्रदान गर्न इच्छुक रहेको संकेत गरेको बताएका थिए ।
यसअघि, अगस्ट १९ मा, ट्रम्पले अमेरिकी सैनिकहरू युक्रेनमा सुरक्षा ग्यारेन्टी कायम गर्न जमिनमा नरहने बताउँदै र युरोपेली देशहरूले यसमा अग्रणी भूमिका खेल्ने उल्लेख गरेका थिए ।
जेलेन्स्कीले पटक–पटक पुटिनसँग भेट गर्न र रूससँग शान्ति वार्ता गर्न तयार रहेको बताएका छन् । अगस्ट २० मा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले यदि, पुटिन एक्लै भेट्न तयार छैनन् भने किभले अमेरिकाबाट कडा कदमहरूको अपेक्षा गरेको बताएका थिए ।
रूसी विदेशमन्त्री सर्गेई लावरोभले अगस्ट २२ मा दुई नेताहरूबीच भेटघाट पूर्णरूपमा तयार नभएको बताउँदै जेलेन्स्कीले भविष्यको शान्ति वार्ताका लागि आवश्यक केही सिद्धान्तहरू अस्वीकार गरेको दाबी गरेका थिए । पाँच वर्षका लागि निर्वाचित भए पनि साता वर्षसम्म सत्तामा रहेको भन्दै उनको वैधानिकतामाथि प्रश्न उठाएका थिए ।