बिहिवार, आश्विन १५ गते २०८३

आव ८२/८३ को पहिलो महिनामा १४ अर्ब बढी सरकारी ऋण थपियो

बुधवार , भाद्र ११, २०८२

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा १४ अर्ब बढी सरकारी ऋण थपिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको साउन मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालु आवको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा १४ अर्ब २ करोड वृद्धि भई २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको छ । यो कुल गार्हस्थ उत्पादनको ४३.९४ प्रतिशत हो ।

कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.२६ प्रतिशत अर्थात् १४ खर्ब २ अर्ब ४७ करोड ६५ लाख छ भने आन्तरिक ऋणको हिस्सा ४७.७४ प्रतिशत छ । चालु आवका लागि सरकारले ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा साउन मसान्तसम्ममा ४४ अर्ब ५७ करोड ऋण उठाइसकेको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७.४८ प्रतिशत रहेको छ ।

आन्तरिकतर्फ ३ खर्ब ६२ अर्ब ऋण उठाउने लक्ष्य रहेकोमा पहिलो महिना ११.०५ प्रतिशत अर्थात् ४० अर्ब ऋण उठाइएको छ । बाह्यतर्फ २ खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख ऋण उठाउने लक्ष्य रहेकामा साउनमा १.९६ प्रतिशत अर्थात् ४ अर्ब ५७ करोड ४८ लाख ऋण उठाइएको छ । चालु आर्थिक वर्षमा सरकारी ऋणको साँवा ब्याज तिर्न ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन भएकोमा साउन मसान्तसम्ममा ३६ अर्ब ६८ करोड भुक्तानी भइसकेको छ ।

वार्षिक बजेट विनियोजनका आधारमा सरकारी ऋणको साँवा ब्याज तिर्न छुट्याइएको बजेट ८.९३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार