आइतवार, श्रावण २४ गते २०८३

पासवान र रुबीको प्रेमको नालिबेलीः ६ कक्षादेखिको प्रेम सम्बन्धले यसकारण ज्यान लिन पुग्यो

बुधवार , भाद्र ११, २०८२

काठमाडौँ । रौतहटको माधवनारायण नगरपालिका २ मुडबलवाकी रुबीकुमारी साहको हत्या उनकै पे्रमी लक्ष्मण पासवानले गरेको पुष्टि भएको छ । आफूलाई आगो लगाउनुअघि रेकर्ड गरेको भिडिओमा पासवानले रुबीको हत्या आफैले गरेको स्वीकार गरेका छन् । 

रुबी र पासवान ६ कक्षामा पढ्दै गर्दा प्रेम सम्बन्धमा बाधिँएका थिए । १० कक्षामा पुगेपछि उनीहरुले कोर्टम्यारिज गरे । तर, रुबीकी आमाले रुबीलाई पासवानबाट छुटाएर घर लगिन । त्यसपछि पासवानले अर्कै युवतिसँग विहे गरे । रुबीको पनि अर्कै केटासँग विवाह भयो । रुबीको एउटा छोरा पनि छ ।भारतको मुजफ्फरपुरका शिवसागर सुडीसँग विवाह गरेकी रुबी छोरालाई पढाउनकै लागि रौतहटमा डेरा लिएर बस्दै आएकी थिइन्। 

तर, रुबी र पासवानको प्रेमको अन्त्य भएको थिएन । उनीहरु कहिलेकाही फोनमार्फत कुरा गर्थे । पासवानले छातीको दाहिनेतिर रुबीकै तस्बिरको ट्याटु बनाएका छन्। दाहिने हातमा रुबीकै नाममा ट्याटु खोपेका छन्। रोजगारीका लागि मलेसियामा रहेका पासवान केही समय अगाडि घर आएका थिए । त्यसपछि पासवानले रुबीलाई भेट्न बोलाउदा रुबी गइन । 

उनीहरुबीच भेट भयो । अनि रुबीले पासवानलाई भनिन्—अब म यसरी बाच्न सकिदिन् त्यसपछि सुरु भएको विवाद पश्चात पासवानले रुबीको हत्या गरिदिए ।  रुवीको हत्यापछि उनले भिडिओ रेकर्ड गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। 

रुबीको हत्या शनिबार साँझ नै भएको थियो। हत्यापछि उनले सुटकेसमा प्याक गरेर रिक्सामा मिल्काउन लैजाँदै थिए। तर, बीच बाटोमै रिक्सा बिग्रिएपछि शव बाटोमै छाडेर फरार भएका थिए।  

मुडलवा गेटनजिकै सडकमा सुटकेस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले आइतबार बिहान सुटकेस खोलेर हेर्दा शव फेला परेको थियो। २६ वर्षकी रुबी सामान लिन गौर जान्छु भन्दै आमा र छोरालाई डेरामा छाडेर निस्किएकी थिइन्। रुबीलाई मारेपछि पावसवानले आफू पनि मर्ने निधो गरे । तर, उनले शरीरमा आगो लगाएपछि प्रहरीले घरबाट पक्राउ गरि अस्पताल पुर्याएकोमा अस्पताले मृत घोषणा गरेको छ ।

जलेर गम्भीर घाइते अवस्थामा फेला परेका ३० वर्षीय पासवानलाई सुरुमा रौतहटकै बेटर नेपाल अस्पताल लगिएको थियो। तर चिकित्सकले उनलाई थप उपचारका लागि कीर्तिपुर वर्न अस्पताल रेफर गरेका थिए। बुधबार वर्न अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो। अन्तिममा पासवानपनि यो संसारबाट विदा भएका छन् ।  

पासवानले आफैँलाई आगो लगाउनुअघि रेकर्ड गरेको भिडिओमा यस्तो भनेका छन्

कोही कसैको ज्यान त्यतिकै लिँदैन। बाध्यता भएपछि मान्छेले कसैको ज्यान लिन्छ। समस्या के थियो भने, उनकी (रुवीकी) आमा बहुत खराब थिइन्। अरुको धनदौलत, सुनचाँदी देख्दा उनी छोरीलाई तनाब दिन्थिन्। मेरो नाम लिएर गाली गर्थिन्।

कसैको सुनचाँदी देख्दा उनलाई जलन हुन्थ्यो। राजन महतो बहुत खराब छ। उनले पनि पैसा धनदौलत देखाएर रुविलाई आफूप्रति आकर्षित गर्ने प्रयास गर्दै आएको थियो। राजा नाम गरेको राजुले पनि उनलाई आफूप्रति आकर्षित गथ्र्यो। रुवीकी आमा छोरीलाई पैसावाला केटासँग जाउ भन्थिन्। 

एकपटक रुवीले बाथरुममा नुहाउँदै गरेको भिडिओ बनाएर पनि उनीहरूले व्ल्याकमेलिन गरेछन्। मसँग सुतिनस् भने यो भिडिओ सार्वजनिक गर्छु भनेर धम्की दिएछन्। 

म गरिब थिएँ। रुवीसँग ६ कक्षामा पढ्दादेखि नै उनीसँग मेरो प्रेम सम्बन्ध भएको हो। १० कक्षामा पढ्दै गर्दा हामीले भागी विवाह गरेका थियौँ। भारतको सीतामढी र सर्लाहीको मलंगवामा गएर हामीले विवाह गर्यौँ। कोर्टम्यारिज गर्यौँ।

हमीले त्यसरी भागी विवाह गरेपछि उनकी आमाले धेरै सताइन्। हामीलाई अलग गरिन्। त्यसपछि रुवीको अन्तै विवाह भयो। म गरिब थिएँ, मसँग पैसा थिएन। छोरीले अन्तै विवाह गरेपछि पनि आमाले उनलाई सुखशान्ति दिइनन्। तनाव दिइरहिन्।  मेरो नाम लिएर पनि रातदिन उनी छोरीलाई गाली गर्थिन्। जीवनमा कसैलाई यस्तो गर्नु हुँदैन।

त्यो दिन (हत्या भएको दिन) रुवी  मलाई भेट्न आएकी थिइन्। हामीले सँगै बसेर धेरै कुरा गर्योँ। झगडा पनि भयो। उनले अब म बाँच्दिन , मर्छु भनिन्। मैले तिमी किन मर्छौ? म मर्छु भनेँ। उनले म बाँच्दिन भनिन्। मलै पनि तिमीबिना म बाँच्दिन भनेँ। त्यसछि तनाब भयो। त्यसपछि मैले उनलाई मारेँ। 

मान्छे मारेपछि जेल जानुपर्छ। म जेल जान्छु। अब १०र२० वर्ष जेल बस्नुपर्छ। आफूले माया गरेकी मान्छे मरेको कारण उबिना म पनि बाँच्न सक्दिनँ। मेरो घरका आमाबुवाले पनि मलाई नै गाली गर्छन्। उनका आफन्तले पनि उनलाई गाली गर्छन्। म अब बाँच्न सक्दिनँ। आजै आगो लगाएर मर्छु।  

मलाई कानुनी सजाय मन्जुर छैन। मलाई कानुनअनुसार जेल हालिन्छ, कुटिन्छ। त्यसले मलाई केही हुन्न। बरु म आजै मर्छु। प्यार कस्तो हुन्छ, समाजले थाहा पाउँछ।

त्यो टेम्पोवालाको केही गल्ती छैन। मैले रुवीको शव टेम्पोमा राख्दा उसले ‘भाइ यसमा कुनै गडबड त छैन नि?’ भनेर पनि सोधेको थियो। मैले केही छैन भनेको थिएँ। प्रहरीले उनलाई छाडिदिनू।

रुवीकी आमा, राजु र राजनलाई सम्झाउनु। उनीहरु धनको धमन्ड गर्छन्। उनीहरू धर्तीमा रहेसम्म कसैले चैनसँग बाँच्न पाउँदैनन्। 

मलाई पुलिसले पनि केही गर्न सक्दैन। नेपालका पुलिसले राम्रो काम गर्छन्। म दोषी हुँ। सजाय म आफैँ भोग्छु। पुलिसले मलाई जेल हाल्नु पर्दैन। कडा भन्दा कडा सजाय आफैँ दिन्छु म। म अब बाँच्दिन। म जेलमा बस्न सक्दिन। मेरो जान (रुवी) नभएपछि म बाँच्दिन। म उनलाई उतै भेट्छु।

 

प्रतिक्रिया
सम्बन्धित समाचार