१. युवा हुनु भनेको अगाडि उभिएको मान्छे भन्दा कम उमेरको हुनु मात्रै हैन। कम्तिमा पनि समसामयिक विश्वदृष्टिकोण, शिक्षा र सीप, प्रविधिमा पहुँच, शारीरिक तन्दुरुस्ती, खेलकुद, सांस्कृतिक गतिविधिमा सङ्लग्नता समेत हो। मेरो विचारमा अलिक बढि स्वाभिमान, परिवर्तन प्रति प्रतिवध्दता, असल भविष्यको लागि आशावादिता र तत्परता, सबै मानवजातीहरु प्रति समानतावोध, गलत ठानिएका चाल चलन संस्कार र विचार प्रति असहमति, त्याग र बलिदानी प्रति आँट, गहिरो प्रेमभाव आदि अपेक्षित युवापनहरु हुन्।
२. हाम्रो दुर्भाग्य, राजनीतिक क्षेत्रमा अझै पनि ५० वर्ष पुराना युवाहरु ( अहिले ७० वर्ष वरिपरिकाहरु) ले नवयुवालाई बाटो देखाउँदै डो-याइरहेको देख्दा मन खिन्न हुन्छ। नेपालको त्यो बुढो पुस्ता शीतयुध्दले चिरिएको विश्वव्यवस्थामा कुनै एक धारबाट प्रशिक्षित दिक्षित युवाहरु थिए। उनीहरुको विश्वदृष्टिकोण १९९० भन्दा अघिको एकाङ्गी थियो, चालू सामन्ति चरित्रको आर्थिक सामाजिक व्यवस्था प्रति निर्मम थियो तर सूचना र प्रविधिको क्रान्ति अघिको भद्दा संरचनावादी, व्यक्तिको गौण भूमिका हुने र राज्यले सबै गर्छ भन्ने मान्यताबाट ग्रसित थियो। सत्ता, शक्ति र पदप्रति आशक्त थियो। त्यो नभए केहि गर्न सकिन्न भन्ने बुझाइको थियो। समयक्रममा ती विचारहरु अर्धसत्य भइसकेको थियो।
३. त्यसैले त्यो पुस्ताले उदारिकरण, विश्वव्यापिकरण र बजारिकरणको रापतापले झण्डै आफैं क्षत विक्षत भइसकेको पुरातन आर्थिक सामाजिक व्यवस्था भत्काउन त योगदान ग-यो, तर आशा देखाइए अनुसारको सामाजिक न्यायमा आधारित आर्थिक सामाजिक विकासको लागि चाहिने पूर्वाधार निर्माण गर्न गराउन सकेन। त्यस अर्थमा यो ५० वर्ष पुरानो युवा पुस्ता अहिलेको युवा पुस्ताको नजरमा असफल पुस्ता हो। पुस्तागत रुपमा भन्ने हो भने हाम्रो असफलताको कारक नै हो।
४. वैचारिक रुपले टाट पलटेकोले त्यो पुस्ताले सांस्कृतिक रुपमा आफूलाई उन्नत बनाउन सक्दैनथे, सकेनन् । त्यसैले यिनीहरु त्याग गर्ने भन्दा लोभ गर्ने, उद्दमी हुने भन्दा मगन्ते हुने, सरल व्यवहारले अनुकरणीय बन्ने भन्दा अपारदर्शी र ढोङ्गी बन्ने सौख देखियो। त्यसैले रातो नम्बर प्लेटको गाडि चढ्नुभन्दा सेतो प्लेटको गाडि चढ्नुलाई पराक्रम ठान्ने, आफ्नो निर्वाचन क्षेत्रमा नै बस्नुभन्दा शहरिया जीवनमा रमाउने, छोराछोरीलाई आफ्नो मुलुकमा योगदान गराउनुको सट्टा विदेशमा पलायन गराउने विशेषताहरु युक्त रहे। यस्ता सयौं विचलनहरु देखिन्छन्, जून तिनले मुखले आलोचना गर्छन र स्वयम् अवलम्बन गर्छन्।
५. यिनीहरुद्वारा प्रशिक्षित युवाहरु पनि स्वभाविक ढङ्गले अपारदर्शी, असहिष्णु, कम अध्ययनशिल, ढोङ्गी, लोभी, पदलोलुप अहङ्कारी हुनु स्वभाविक नै हो। यस प्रकारका युवाहरु पनि अवसर, कमाइ, पद, सुविधाको लागि मरिहत्ते गर्ने र त्यसकै लागि दल, गूट, नेता छनौट गर्ने प्रवृत्ती बोकेर आउँछन्। यो पंक्तिबाट समाजले केहि पाउँदैन। कुनै न कुनै हिसाबले यो पक्तिलाई पाल्न पनि समाजले मूल्य चुकाउनुपर्दछ।
६. अध्ययनशिल, पारदर्शी, प्रश्न गर्न सक्ने, नेतृत्वमा देखिने कथनी र करणी बिचको अन्तरलाई निर्मम ढङ्गले चिर्न सक्ने, स्वावलम्बी , जनताको पंक्तिको बृहत्तर हितको मातहत आफ्नो हितलाई कम्प्रोमाइज गर्न सक्ने, लैङ्गिक र जातीय असमानताको विरुध्द सहिष्णु युवाहरु विकास हुने र नेतृत्व लिएर समाज हाँक्ने सम्भावनालाई तिनीहरुले निर्मम ढङ्गले कुल्चेर पदलोलुप, भ्रष्ट, नालायक पिछलग्गूहरुलाई प्रोमोट गर्छन्।
७. अघिल्लो पुस्तालाई सुन्नुपर्दछ, साथै प्रश्न पनि गर्नुपर्दछ। तपाईंले यत्रो समय सार्वजनिक र राजकीय भूमिका निर्वाह गर्दा समाजलाई कहाँबाट कहाँ पु-याउनुभयो? आधरभुत तहका जनताहरुको जीवनमा आएको परिवर्तन कति हो ? राष्ट्रको उत्पादन, इज्जत, सामाजिक एकता कति मजबुत भयो, तपाईंको दलमा कति असल मानिसहरु भित्र्याउन र टिकाउनसक्नुभयो ? अरुको लागि आव्हान गरेको यो दलमा तपाईंका परिवारका नयाँ पुस्ता कति संलग्न छन ? तपाईंका नयाँ पुस्ता पढेपछि विदेशबाट किन फर्केनन् ? तपाईं किन निर्वाचन क्षेत्रबाहिर वा शहरमा स्थायी बसोबास गर्नुहुन्छ हुन्छ ? तपाईंसङ्ग नया पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने के योजना छ ? जस्ता अनेकन प्रश्नहरु हुनसक्छन् र सप्रमाण उत्तरको खोजी गर्नुपर्दछ।
८. सुगौली सन्धी यताको नेपालको समग्र परिवर्तनको ईतिहास राजनीतिक सत्ता सङ्घर्षको इतिहास हो। हालाङ्की यी परिवर्तनहरु संरचनागत रुपमा लोकतन्त्रको पक्षमा भए। अहिले तत्कालका परिवर्तनमा तपाईं युवाहरुको एजेण्डा कहाँ निर छ ? अब दलहरु विभाजन हुँदै गर्दा युवाहरुको मुद्दा र स्पेस कहाँ छ, अदालतको आदेशबाट नयाँ सरकार गठन भएको छ, तपाईंहरुको सुदुर भविष्यसम्म जोडिने कुनै सुधार वा परिवर्तन हुने वाला केहि छ? मुलुकको एक चौथाई जनसंख्यामा रहेका तपाईंका साथीभाइ, दाजु दिदीहरु पेट पाल्नको लागि विदेशमा भौंतारिनु परेकोछ, त्यसको समाधान छ ? तत्काल नहोला, २०-३० वर्षमा केहि छ? त्यस्तो केहि भए लागौं, छिटो लागौं, बल गरेर लागौं। नत्र यो ज्याला खेतालागिरी हो, परिवर्तनको लागि राजनीति त पटक्कै हैन। तपाईं साँच्चि कै युवा हुनुहुन्छ भने विचार गरौं।
९. छलफल धेरै गर्नसकिन्छ, तर यक्ष प्रश्न चाहिँ युवाहरु, तपाईंहरु भविष्यको कर्णधार कि वर्तमान कै साझेदार हो? यो प्रश्न किन महत्वपूर्ण छ भने बिभिन्न समयका युवाहरुलाई तपाईंहरु भविष्यको कर्णधार भनेर त्यो पुस्ताले धेरै पुस्ता जिल्याइसकेकाछन्। उनीहरु युवा हुँदा विद्रोह गरे होलान, तर अहिलेको पुस्तालाई विद्रोह गर्न हुन्न, सामाजिक व्यवस्था, अनुशासन उल्लङ्घन हुन्छ भनेर अल्मल्याउँछन्। नेपालको अहिलेका प्रधानमन्त्री पहिलोपटक प्रधानमन्त्री हुँदा जन्मेका पुस्ता युवा भइसके, त्यो बेलाका युवा लगभग ५० नाघिसके। नेपालमा बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलनमा लागेको युवा पुस्ता ६० वर्षको हुने बेला भयो। त्यो पुस्ता अझै पनि पछि लागिरहेकोछ। माओवादी सङ्घर्षमा भिडेको पुस्ता ४५ वरपर होला। यो पंक्ति, तपाईंहरु अझै भविष्यको कर्णधार हो ? त्यहि ७० वर्षे बुढाहरुले दिएका ‘तिलस्मी’ प्रशिक्षणले यो समाज अब चाहिँ विकसित हुने आधारहरु के के हुन् ?
१०. त्यसकारण पृय साँच्चीकै युवाहरु, हामीभन्दा तपाईंहरु धेरै वर्ष बाँच्नुहुन्छ। ज्ञान, शिक्षा, सीप, अवसर, तन्दुरुस्ती सबै हिसाबले तपाईंहरु नेतृत्व लिन लायक हुनुहुन्छ। तपाईंहरु कपालमा रङ्ग लाएर, छोराछोरी हुर्कँदासम्म पनि भातृ वा ज. व. सङ्गठनहरुको कार्यकर्ता बनेर पछि लाग्ने पध्दतिले राष्ट्र बन्दैन। सबैभन्दा उत्पादनशिल समयमा हैसियत अनुसार नेतृत्व गर्नुहोस्। पृथ्वीनारायण शाह, वि पी, पुस्पलाल, मदनभण्डारी, माओ, लेनिन आदि महापुरुषहरुको उमेर र योगदानको विश्लेषण गर्नुहोस्। वृध्दावस्थामा वहाँहरुको सफलता असफलताको पनि समीक्षा गर्नुहोस्। अहिलेका यी वयोवृध्दहरुलाई यथोचित सम्मान र आर्थिक-सामाजिक सुरक्षा दिएर सल्लाहकार बनाउनुहोस्। सम्मानको लागि कार्यकारी पद दिने गल्ति नगर्नुहोस्। काम गर्नेले नेतृत्वको बागडोर सम्भाल्नुहोस्। तपाईंहरु भविष्यको कर्णधार मात्र हैन, वर्तमानको साझेदार नै हो।
लेखक शर्मा सत्यवती माध्यामिक विद्यालयका प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हुनुहुन्छ ।