बिहिवार, आश्विन १५ गते २०८३

महालेखाको प्रतिवेदन : १३ औं सागमा अनियमितता, खेल सामग्री खरिदमा बजार मूल्यभन्दा ६ गुणासम्म बढी लागत अनुमान

आइतवार , भाद्र ६, २०७८

काठमाडौं । नेपालमा सम्पन्न भएको १३ औँ दक्षिण एसियाली साग आयोजनाका क्रममा अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले आफ्नो ५८ औं प्रतिवेदन सार्वजनिक गरी साग प्रतियोगिता आयोजना गर्दा खेल सामग्री खरिद खरिद तथा वितरण, पोसाक खरिद, राष्ट्रिय टिम तयारीलगायत काममा अनियमिता भएको भन्दै प्रश्न उठाएको छ । 

१३ औं सागमा ३ अर्ब ६ करोड रुपैयाँ खर्च भएको प्रतिवेदन राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सार्वजनिक गरेको थियो । त्यसमध्ये १ अर्ब ३१ करोड आयोजना र १ अर्ब ७५ करोड पूर्वाधारमा खर्च भएको जनाइएको थियो । महालेखाको प्रतिवेदनमा १३ औं सागका लागि समयमै कार्यविधि पारित गरी बजेट भुक्तानी गर्दा पनि १ अर्ब ४ करोड रुपैयाँबराबरको खेलकुद सामग्री र अन्य सामग्री सोझै खरिद गरिनु उपयुक्त नदेखिएको उल्लेख छ । सागको कार्यविधि र आयोजना खर्च भुक्तानी २०७६ भदौ २६ मा भएको थियो ।

राखेपले तीन महिनाभन्दा कम समय रहेको भन्दै सार्वजनिक खरिद ऐनअनुसार सम्भव नहुने बताएपछि मन्त्रिपरिषदले सोझै खरिद अनुमति दिएको हो । महालेखाले १३ औं सागको खेल सामग्री खरिदमा सामान्य मूल्यभन्दा धेरै बढी निर्धारण गरी लागत अनुमान गरेको जनाएको छ । राखेपले बनाएको ९ सदस्यीय लागत अनुमान तयार समितिले २६ खेलका लागि ४० करोड ९६ लाख मूल्यबराबरको लागत अनुमान स्वीकृत गराएको थियो । महालेखाले केही खेल सामग्रीको नमूना परीक्षण गर्दा सामान्य बजार मूल्यभन्दा ६ गुणासम्म बढी लागत अनुमान गरेको पाइएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार