काठमाडौँ । २०६२/०६३ को दोस्रो जनआन्दोलन १९ दिन चलेको थियो । १९ दिनमा जम्मा १९ जनाको मृत्यु भएको थियो । तर, आज ४ घण्टाको अन्तरालमा २० जनाको ज्यान गएको छ । भने, २९ जना गम्भिर घाइते भएका छन् ।
०६२/२०६३ को दोस्रो जनआन्दोलनपछि यत्रो संख्यामा युवाहरु पहिलोपटक सडकमा उत्रिएका हुन् । तर, पहिलो दिनमै केपी शर्मा ओली नेतृत्वको सरकारले ताकी ताकी गोली चलाउँदा अहिले सिंगो देश शोकमा डुबेको छ । मृत्यु हुनेहरुमा कलिला विद्यार्थीहरु समेत छन् । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
स्कुल ड्रेसमा हातमा राष्ट्रिय झन्डा बोकेर आएका विद्यार्थीमाथि राज्यले गोली चलाउँदा आज कयौँ आमाको कोख रित्तिएको छ । संसद भवनअगाडि रगतको खोला बगिरहेको छ । तर, अब जेनको आन्दोलन रोकिने मुडमा छैन । जेनजीको आन्दोलनले सरकार त्रसित बनेको छ ।
पहिलो पटक ओली सरकारले युवाहरुको आक्रोश देख्न पाएको छ । सरकारले जे गरेपनि हुन्छ भन्ने मनशाय सायद आजका दिनदेखि पूराना नेताहरुको दिमाखबाट हटिसकेको होला । आजको दिन इतिहासको पानामा अवश्य लिखिनेछ । मिति २०८२/५/२३ गते, यो दिन अब आउने पुस्ताले पनि सम्झिनेछन् । २० जनाको ज्यान लिएपछि देशैभरी जेनजी पुस्ताले आन्दोलन चर्काउने भएको छ । जेनजीहरुले यो सरकारलाई घुँडा नटेकाएसम्म छोड्ने वाला भने छैनन भन्दै विभिन्न किसीमका टिकाटिप्पणी भइरहेका छन् ।
जेनजीको आन्दोलन चर्किदै गएपछि त्रसित सरकारले भिआइपी बस्ने ठाउँ ठाउँमा कफ्र्यू लगाएको छ । प्रहरीले अश्रुग्यास र हवाइ फायर, गोली चलाउदा समेत समेत प्रहरीले भिड थाम्न नसकेपछि गृहमन्त्री रमेश लेखक सेना परिचालन गर्न बाध्य भएका थिए । तर, आजको आन्दोलनमा युवाहरुको सहभागिता र आक्रोश देखेर पक्कै पनि ओली सरकार त्रसित बनेको छ । जेनजी पुस्ता अब आन्दोलनको मैदानमा उत्रिसकेको छ । यो आन्दोलन कति अगाडि पुग्छ त्यो भने हेर्न बाँकी छ ।