शनिवार, आश्विन १७ गते २०८३

हामी माननीय होइनौं, यहाँ सेवा गर्न आएका हौं : ऊर्जामन्त्री घिसिङ

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । अन्तरिम सरकारका नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले आफूहरू माननीय नभई जनताको सेवकको रूपमा काम गर्न आएको बताएका छन् ।

उनले जेनजी आन्दोलनले निम्त्याएको विनाशलाई पुनर्निर्माणमा बदल्ने र शहीदहरूको सपना साकार पार्ने आफ्नो मुख्य उद्देश्य रहेको स्पष्ट पारेका छन् । सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्री घिसिङ सिधै सिंहदरबार नगई त्रिवि शिक्षण अस्पताल पुगेका थिए । त्यहाँ उनले आन्दोलनमा ज्यान गुमाएकाका परिवारजनलाई भेटेर समवेदना प्रकट गरेका छन् । त्यसपछि मात्र मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उनले आफ्नो प्राथमिकता र योजना सार्वजनिक गरेका हुन् ।

मन्त्री घिसिङले भने, ‘आज म गौरव अनुभव गर्न नभई, गौरव निर्माणको अभिभारा बोकेर तपाईंहरूसामु उभिएको छु, जे भत्किएको छ, त्यसलाई मर्मत गर्ने, जे जलेको छ, त्यसलाई पुनर्निर्माण गर्ने र शहीदको सपना साकार पार्ने मेरो उद्देश्य हो ।’ उनले मन्त्रीहरूलाई ‘माननीय’ भन्ने शब्द प्रयोग नगर्न आग्रह गर्दै आफूहरू सेवा गर्न आएको बताएका छन् । उनले भने, ‘हामी माननीय होइनौं, यहाँ सेवा गर्न आएका हौं । माननीय भन्ने शब्द कसैले नभनिदिनुहोला, मन्त्रीज्यू भनेपछि भैहाल्यो ।’

मन्त्री घिसिङले आन्दोलनमा ज्यान गुमाएका युवाहरू देशको उज्ज्वल भविष्य भएको उल्लेख गर्दै उनीहरूको बलिदानले परिवर्तनको जग बसाल्ने सुनाएका छन् । उनले भने, ‘पछिल्ला दिनहरूमा हामीले राष्ट्रका होनहार युवा गुमायौं । उनीहरू हाम्रो देशको उज्ज्वल भविष्य थिए ।’ उनले मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

मन्त्री घिसिङले यो जिम्मेवारी पीडा र आशाको बीचबाट आएको ठूलो जिम्मेवारी भएको बताउँदै हिंसालाई त्यागेर अब पुनर्निर्माण र समृद्धिको बाटोमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘हिंसा होइन, समाधान हाम्रो बाटो हो अब, अब हामी पुनर्निर्माणतिर लाग्नुपर्छ, देशलाई समृद्धितिर अगाडि बढाउनुपर्छ ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार