आइतवार, श्रावण २४ गते २०८३

भेनेजुएलाको डुंगामा अमेरिकी हवाई आक्रमण

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । अमेरिकी सेनाले सोमबार गरेको अर्को हवाई आक्रमणमा भेनेजुएलाको एउटा डुंगा ध्वस्त पारिएको छ । आक्रमणमा डुंगामा सवार तीनजनाको मृत्यु भएको छ ।

भेनेजुएलाविरुद्ध ‘ड्रग्स वार’ सुरु गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागूऔषध कार्टेलमाथि सैन्य कारबाही अझै तीव्र बनाउन सकिने बताएका छन् । उनले आवश्यकता परे जमिनबाट समेत आक्रमण सुरु गर्न सकिने संकेत दिएका छन् ।

“यो हमला त्यतिबेला गरिएको हो, जब भेनेजुएलाका यी ‘नार्को–टेररिस्ट’हरू अन्तर्राष्ट्रिय जलक्षेत्रमार्फत अवैध लागूऔषध अमेरिकातर्फ लगिरहेका थिए,” ट्रम्पले भनेका छन्, “यी लागूऔषध तस्करी गर्ने कार्टेलहरू अमेरिकी राष्ट्रिय सुरक्षा, विदेश नीति र महत्वपूर्ण अमेरिकी हितका लागि गम्भीर खतरा हुन् ।”

समाचार संस्था एपीका अनुसार, भेनेजुएलाबाट अमेरिका लागूऔषध लैजाने प्रयासमा संलग्न भएको आरोपमा अमेरिकी सेनाले भेनेजुएलाको डुंगामाथि हवाई आक्रमण गरेको यो पहिलो घटना भने होइन ।

करिब दुई हप्ता अघि पनि यस्तै आक्रमण भएको थियो, जसमा ११ जनाको मृत्यु भएको थियो । ट्रम्प प्रशासनले त्यसबेला पनि उक्त डुंगा भेनेजुएलाबाट लागूऔषध ओसारिरहेको दाबी गरेको थियो ।

सोमबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ज्वाइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल डान केनले आफूलाई पछिल्लो आक्रमणको फुटेज देखाएको जानकारी दिए । लागूऔषध ओसारिरहेको प्रमाणबारे प्रश्न उठ्दा ट्रम्पले भने, “हामीसँग प्रमाण छ । तपाईंले केवल त्यो कार्गो हेर्नुपर्छ, जुन पूरै समुद्रमा छरिएको थियो । जहाँ–जहाँ हेर्‍यो, उतै कोकिन र फेन्टानिलका ठूला बोराहरू देखिन्थे ।”

यसैबीच, अमेरिकी रक्षामन्त्री पीट हेगसेथले चेतावनी दिँदै भनेका छन्, “अमेरिकाले उनीहरूलाई ट्रयाक गर्नेछ, उनीहरूलाई मार्नेछ र उत्तरी गोलार्धमा उनीहरूको सञ्जाल पूर्णरूपमा नष्ट गर्नेछ ।” 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार