काठमाडौं । इजरायलमा रोजगारीका लागी लगिने श्रमिकहरुको परिक्षा भदौ अन्तिममा हुने भएको छ । इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा १ हजार सहयोगी माग गरेको छ । जसका लागि आवेदन दिएकाहरूको परीक्षा भदौ अन्तिममा गर्ने वैदेशिक रोजगार विभागको तयारी छ ।
स्थानीय प्रशासन, सीसीएमसी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परीक्षा केन्द्र र मिति तोक्नका लागि पत्राचार गरिसकिएको विभाग जनाएको छ । इजरायलमा रोजगारीका लागि लिइने अंग्रेजी भाषा परीक्षामा ४० अंक ल्याउने उत्तीर्ण हुने छन् । तर मेरिटका आधारमा छनोटमा परेकालाई अन्तरवार्ताका लागि बोलाइने छ ।
इजरायलले पहिलो चरणमा १ हजार कामदार माग गरेको छ । रोजगारीका लागि इजरायल जान ५ हजार ६ सय ९९ पुरुष र ४ हजार २ सय महिला गरी ९ हजार ६ सय ९९ आवेदन परेको विभागको इजरायल शाखा प्रमुख डम्बर सुनुवारले जानकारी दिए ।विभागका अनुसार इजरायल रोजगारीका लागी माग भन्दा ९ गुणा बढी आवेदन परेको छ ।