काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल पुरस्कारको चर्चा गर्दै मे महिनामा भारत र पाकिस्तानबिच भएको युद्ध रोकेको दाबी गरेका छन् ।
ट्रम्पले शनिबार राति एक कार्यक्रममा भने, ‘हामीले शुल्क र व्यापारका कारण सात फरक युद्ध रोकेका छौँ । हामीले भारत र पाकिस्तान, थाइल्याण्ड र कम्बोडियाबिचको युद्ध रोकेका छौँ । आर्मेनिया र अजरबैजान धेरै वर्षदेखि लडिरहेका थिए । भारत र पाकिस्तानबिचको युद्ध व्यापारले रोकेको थियो। तिनीहरू व्यापार गर्न चाहन्थे ।’
उनले थपे, ‘भारत-पाकिस्तान, थाइल्याण्ड-कम्बोडिया, आर्मेनिया-अजरबैजान, कोसोभो-सर्बिया, इजरायल-इरान, इजिप्ट-इथियोपिया र रुवान्डा-कंगो, हामीले ती सबै रोकेका छौँ । यीमध्ये ६० प्रतिशत देश व्यापारका कारण रोकिए । जस्तै हामीले भारतलाई भनेका थियौँ कि यदि युद्ध भयो भने हामी व्यापार गर्दैनौँ ।’
नोबेल पुरस्कारबारे उनले भने, ‘यसपछि मलाई भनियो कि यदि तपाईंले रुस र युक्रेनबिचको युद्ध रोक्नुभयो भने तपाईंले नोबेल पुरस्कार पाउनुपर्छ ।’ मैले भने, ‘मैले रोकेका अन्य सात युद्धको बारेमा के ? मैले प्रत्येकका लागि नोबेल पुरस्कार पाउनुपर्छ ।’
ट्रम्पले यसअघि पनि भारत र पाकिस्तानबिचको द्वन्द्व रोकेको दाबी गर्दै आएका थिए । तर भारतले उनको दाबीलाई अस्वीकार गर्दै आएको छ ।