काठमाडौं । आज (आइतबार) मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठक एक सातापछि फेरि आज बस्न लागेको हो । यसअघि गत आइतबार मन्त्रिपरिषद्को बैठक बसेको थियो । बैठक साँझ बस्ने बताइएको छ । समय भने खुलाइएको छैन् ।
बैठकले जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठनबारे छलफल गर्ने बताइएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा छलफल हुनेछ । हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद् छ ।
प्रधानमन्त्री कार्की तथा रामेश्वर खनाल (अर्थमन्त्री), कुलमान घिसिङ (सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री) र ओमप्रकाश अर्याल (गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री) हालको मन्त्रिपरिषद्मा रहेका छन् ।