काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् ।
जेनजीको प्रदर्शनको क्रममा भदौ २४ गते सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि कारागार फर्केका हुन् । मंगलबार रायमाझी कारागार फर्केको कारागार स्रोतले बताएको छ । रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदीबन्दी भागेका थिए ।
देशभरका कारागारबाट १४ हजार बढी कैदीबन्दी भागेका थिए । करिब आधाजसो कैदीबन्दी अहिले कारागार फर्किसकेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा रायमाझीसहितका व्यक्तिविरुद्ध मुद्दा चलेको थियो । त्यसपछि काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनी पुर्पक्षमा छन् ।
उनीसँगै सुन्धारा कारागारमा रहेका भुटानी शरणार्थी प्रकरणमै तत्कालीन सचिज टेकनारायण पाण्डे पनि कारागारबाट निस्केका थिए । उनी भने अहिलेसम्म फर्केका छैनन् ।