काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मयेर बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनमा दमन गर्नेहरूमाथि कारबाही नगरेको भन्दै प्रश्न गरेका छन् ।
बालेनले प्रधानमन्त्री कार्कीसँग भेटका लागि समय लिएर बुधबार बिहान बालुवाटार पुगेका थिए। भेटका क्रममा प्रधानमन्त्री कार्कीले बालेनलाई ‘बाहिरको माहोल के छ ?’ भनेर जिज्ञासा राखेकी थिइन्।
त्यसपछि बालेनले विकसित घटनाक्रमबारे आफ्नो धारणा राखेका थिए। त्यही बीचमा उनले जेनजीका मागहरूको सम्बोधनका विषयमा प्रश्न राखेका थिए।
बालेनको विशेष जोड भने भदौ २३ गते भएको जेनजी प्रदर्शनमाथि गोली चलाउने र त्यसका लागि आदेश दिनेहरूमाथि कारबाही नभएकोमा थियो।
‘सरकार गठन भएको यतिका दिन भइसक्यो। गोली चलाउनेहरू र आदेश दिनेहरू कहाँ छन्? अहिलेसम्म उनीहरूलाई किन पक्राउ गरिएन ?’ बालेनले भने।
बालेननिकट स्रोतका अनुसार, पीडित परिवारहरूले पनि यो प्रश्न उठाइरहेको र तत्काल कारबाही नभए असन्तोष बढ्दै जान सक्नेतर्फ पनि उनले सचेत गराएका थिए।
जवाफमा प्रधानमन्त्री कार्कीले यस विषयमा आफू गम्भीर रहेको प्रतिक्रिया दिइन्। ‘गर्दै छौँ, हुँदै छ । अत्याचार गर्ने, शक्तिको दुरुपयोग गर्ने कसैले उन्मुक्ति पाउँदैन। उन्मुक्ति दिने कुरै छैन।’, बालेनलाई जवाफ दिदैँ कार्कीले भनिन् ।
बालेनले जेनजी आन्दोलनमा समर्थन र सहजीकरण गरेका थिए। भदौ २४ गतेको विध्वंशपछि बालेनले नै प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटेका थिए। त्यसपछि उनले अब जेनजीले सेनासँग वार्ता गर्नुपर्ने, अन्तरिम सरकार बनाउनुपर्ने र त्यसअघि संसद विघटन हुनुपर्ने धारणा सार्वजनिक गरेका थिए। बालेनको समेत समर्थनमा पूर्वप्रधानन्यायाधीश कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन्।