काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नेताहरूको पासपोर्ट रोक्कामात्र नभई उनीहरूलाई पक्राउ नै गर्नुपर्ने हुनसक्ने बताएका छन्।
बिहीबार बेलुकी सिंहदरबारबाट बाहिरिने क्रममा पत्रकारहरूले सरकारले दलका मुख्य नेताहरूको पासपोर्ट रोक्काबारे प्रश्न गरेका थिए। जबाफमा मन्त्री अर्यालले पासपोर्ट मात्रै नभई पक्राउ गरी बयान नै लिनुपर्ने हुनसक्ने बताएका हुन्।
'कानुनमा यो सबै कुरा छ। अनुसन्धान गर्ने निकायले के-के रोक्का गर्नुपर्छ गर्छ। त्यतिमात्रै होइन पक्राउ पनि गर्नुपर्ने होला, बयान लिनुपर्ने होला । जे आवश्यक पर्छ त्यो गर्छ,' उनले भने।
मन्त्री अर्यालले राज्यका अनुसन्धान गर्ने निकाय सक्रिय भइसकेको पनि बताए। 'तत् कानुनमा यो लेखिएको छ। त्यही बमोजिम हुन्छ,' उनले भने।
उनले भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा सरकारले राम्रैसँग खुट्टा टेक्ने पनि बताए। 'पाँच वर्षको म्यान्डेट पाएको सरकार पनि बीचमै भंग भयो। सुशासनको मामिलामा खुट्टा टेकेन भने यो सरकारको पनि म्यान्डेटमा प्रश्न उठ्छ,' उनले भने,' त्यसकारण त्यसमा खुट्टा टेक्छ, राम्रैसँग टेक्छ।'