काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजीको माग भ्रष्टाचार निर्मुल गर्ने, सुशासन कायम गर्ने रहेको बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले शुभकामना र बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्ने जरुरी रहेको बताएका छन् । उनले देशभित्रै बसेर काम गर्ने वातावरण बनाउने चाहना युवापुस्ताको चाहना पूरा गर्न जरुरी रहेको बताएका छन् ।
मन्त्री घिसिङले सुशासनको विषयलाई गम्भीर रूपमा लागु गर्नुपर्ने बताएका छन् । जेनजीले उठाएका सुशासनका विषयलाई गम्भीर रूपमा लिएर लागू गर्दै जनताको सेवामा कमी हुन दिनु नहुने उनको भनाई रहेको छ । अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही गर्ने उनको चेतावनी छ । अब पनि त्यस्तै गतिविधि भइरहे अर्को ठूलो विद्रोह हुने र त्यसले कसैलाई नछोड्ने उनको भनाइ छ ।
मन्त्री घिसिङले प्राधिकरणभित्र सुशासन कायम गर्न कटिबद्ध भएर लाग्न निर्देशन दिएका छन् । कुनै किसिमको अनियमितता र भ्रष्टाचार गरेको पाइए तत्काल कारबाही हुने उनको भनाइ रहेको छ ।