आइतवार, श्रावण २४ गते २०८३

माओवादीको नेतृत्वबाट प्रचण्डलाई हटाउन मैदनमा उत्रिए नारायणकाजी र जनार्दन

शुक्रवार , आश्विन १०, २०८२

काठमाडौँ । गत भदौ २४ गते अगाडिसम्म नेकपा माओवादी केन्द्रभित्र पुष्पकमल दाहाल प्रचण्डको रजगज थियो । विगत तिस वर्षदेखि प्रचण्डनै माओवादीको नेतृत्वमा छन् । प्रचण्डले जे निर्णय गर्यो त्यही पारित हुन्थ्यो । तर, बिहीबार भने माओवादीभित्र फरक दृश्य देखिएको छ । 

आज प्रचण्डको आह्वानमा केन्द्रीय समिति बैठक बस्यो । बैठकमा प्रचण्डले राखेको प्रस्तावमा भौगोलिक र गैरभौगोलिक समूहका नेताले मात्रै बाल्न पाउने भनिएको थियो । तर,  बैठकमा सबैले आफ्नो धारणा राख्न पाउनुपर्ने भन्दै केन्द्रीय सदस्य सुदन किराती र रञ्जित तामाङलगायतले सबैले बोल्न पाउनुपर्ने माग राख्दै चर्को स्वरमा बोल्न थाले । त्यसपछि बैठकमा हो हल्ला भयो र, पत्रकारलाई समेत बाहिर निकालिएको थियो ।

जेनजी आन्दोलनपछि माओवादीभित्र प्रचण्डको विरुद्धमा उभिनेहरुको संख्या बढिरहेको छ । प्रचण्डले जनयुद्धका मागलाई सम्बोधन गर्न नसकेको र माओवादी पार्टीलाई झनै तल झार्ने काम गरेको भन्दै प्रचण्डले नेतृत्वबाट बिदा हुनुपर्ने अधिकांश नेताहरुको माग छ । तर, प्रचण्ड भने कुनै पनि हालतमा नेतृत्व नछाड्ने रणनीतिमा छन् । 

आफू अध्यक्षमा रहिरहन प्रचण्डले निकै खेल खेलिरहेका छन् । पार्टीको विषेश महाधिवेशन गरेर फेरि अध्यक्षमा दोहोरिने प्रचण्डको रणनीति हो । अहिले प्रचण्डले आफू अध्यक्ष नरहेको भन्दै घुर्की लगाइरहेका छन् । 

यता प्रचण्डको खेल बुझेका माओवादी नेताद्धय नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा ‘प्रभाकर’ भने उनलाई हटाउन मैदानमा उत्रिएका छन् । प्रचण्डालाई अध्यक्षबाट हटाएर आफूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिन नारायणकाजीले प्रस्ताव गरेका छन् । 

जारी केन्द्रीय समिति बैठकमा पुरक प्रस्ताव राख्दै श्रेष्ठले प्रचण्डको कार्यकारी नेतृत्वको जिम्मेवारीबाट बिदाइ गर्दै उनीमाथिको सम्मान कायम राख्नुपर्ने बताएका हुन्। 

‘यहाँ के कुरामा पनि स्पष्ट हुन आवश्यक छ भने हाम्रो पार्टीको आजको यथार्थको ठोस सन्दर्भमा अध्यक्ष कमरेड स्वयमको वास्तविक सहमतिमा मात्रै यो प्रक्रिया व्यवहारतः कार्यान्वयन हुन सक्नेछ। यस सन्दर्भमा अर्को एक पक्षका बारेमा पनि स्पष्टताका आवश्यकता छ ।

अध्यक्ष कमरेडको कार्यकारी नेतृत्वको जिम्मेवारीबाट बिदाइ उहाँ प्रतिको सम्मानलाई कायम राख्दै र उहाँको निरन्तरताको वैचारिक, निर्देशनात्मक र अभिभावकीय भूमिकालाई स्थापित गर्ने गरिनुपर्दछ। नेपालको आजको ऐतिहासिक राजनीतिक परिवर्तनको निम्ति जसरी जनयुद्धको मुख्य भूमिका रहेको यथार्थलाई सबैले स्वीकार गर्नुपर्ने हुन्छ।’, श्रेष्ठको प्रस्ताव छ ।  श्रेष्ठले पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिने कामको सुरुवात अहिले नै गर्नुपर्ने बताएका छन्।  

‘पार्टी महाधिवेशन यसरी उपयुक्त समयमा गर्ने तयारी अनुरूप अगाडि बढ्दै गर्दा पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिने कार्यको थालनी भने अहिले नै गरिनुपर्छ । अहिले जेनजी विद्रोहात्मक आन्दोलनले दिएको सन्देश, पारेको प्रभाव र निर्वाचनमा गर्नुपर्ने अपिलको सन्दर्भमा अध्यक्ष कमरेडले अध्यक्ष पदको कार्यकारी नेतृत्वबाट बिदा लिनु उपयुक्त हुन्छ। महाधिवेशनबाट त्यस प्रकारको निर्णय लिने हो भने पनि अहिले संस्थागत प्रणालीअन्तर्गत दोस्रो प्रकृतिले नेतालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर त्यो प्रक्रियाको स्पष्ट सन्देश दिनु राम्रो हुन्छ।’, उनले भनेका छन् । 

श्रेष्ठको प्रस्तावमा जनार्दनले पनि समर्थन गरेका छन् ।  तीन दशकसम्म एकै व्यक्ति प्रमुख नेतृत्वमा रहिरहने विषयले नकरात्मक सन्देश दिएको उनीहरुको दाबी छ ।  तर, केही वर्ष आफैले माओवादीको नेतृत्व गर्ने प्रचण्डको रणनीति छ । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार