काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमीमा टीका नलगाई जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारलाई भेटेकी छन् ।
प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवार, नागार्जुन–३ की मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा बस्ने मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेटेकी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले यसअघि नै ‘जेनजी आन्दोलन’ मा मारिएकाहरूको सम्झनामा यसपालिको दशैंमा टिका नलगाउने घोषणा गरेकी थिइन् । प्रधानमन्त्री कार्कीसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहिद परिवारलाई भेट्न पुगेका थिए । प्रधानमन्त्रीसँगै आफूले पनि विजया दशमीमा टीका नलगाएको उनले बताए ।