काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सोमबार बसेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिका बारेमा ब्रिफिङ दिएका थिए । उनले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट, नेकपा (एकीकृत समाजवादी) र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताका लागि पहल भइरहेको ब्रिफिङ गरेका छन् ।
यद्यपि उनले यादव नेतृत्वको नेसपा मात्र पार्टी एकताका लागि तयारी अवस्थामा रहेको जानकारी गराएका छन् । असोज ९ र १० गते बसेको माओवादीको केन्द्रीय समिति बैठकले समाजवादी मोर्चामा आबद्ध भएका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो । नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको छ ।
बैठकपछि पत्रकारसँग कुराकानी गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले संयोजक प्रचण्डले वर्तमान विपद् र राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेको जानकारी दिएका छन् ।
सापकोटाले भने, ‘वर्तमान परिस्थितीबारे सामान्य समीक्षा भयो । दुई दिनपछि फेरि सचिवालय बैठक बस्ने छ, समाजवादी मोर्चालाई फेरि बिस्तार गर्ने सन्दर्भमा, पार्टी एकताका सम्बन्धमा कमरेड अध्यक्षले ब्रिफिङ गर्नुभयो ।’ सोही क्रममा पार्टी एकताका सन्दर्भमा पनि बृहत् र सकारात्मक छलफल भइरहेको कुरा संयोजक प्रचण्डले भनेको उनले बताएका छन् ।
सापकोटाले भने, ‘एजेन्डा मिल्नेसित मोर्चा बिस्तार, विचार मिल्नेसित एकताका लागि सकारात्मक छलफल भइरहेको छ ।’