२०८२ भदौ २३ गतेबाट जेनजीद्वारा सुरु गरिएको आन्दोलनका मुख्य मागहरू भ्रष्टाचार र दण्डहिनताको अन्त्य भएको हुनाले यी मागहरू पूरा गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष स्वतन्त्र र सक्षम पदाधिकारीले नेतृत्व गर्न अत्यावश्यक रहेको पनि उनीहरूको भनाइ छ ।
विशेष अदालतको फैसला पूर्णपाठमा समेत प्रमुख आयुक्तको स्वार्थद्वन्द्व र सिङ्गो आयोगको अभियोजन प्रणालीमाथि नै प्रश्न गर्दै चयनात्मक अभियोजन गरेको बताइएकाले आयोगका प्रमुख आयुक्तसहित सम्पूर्ण आयुक्तहरूको निष्पक्षतामाथि ठूलो प्रश्न उठाएको उनीहरूको भनाइ छ ।
हाल आयोगका प्रमुख लगायत अन्य आयुक्तलाई पदबाट निष्कासन गर्न महाअभियोग लगाउनुपर्ने तर त्यसका लागि संघीय संसद् नभएका कारण सम्पूर्ण आयुक्तको पदलाई रिक्त बनाउन प्रमुख आयुक्त लगायत अन्य आयुक्तको राजीनामा अतिआवश्यक रहेको हुनाले जेनजी मुभमेन्ट अलायन्सले उनीहरूको राजीनामा माग गरेको छ ।
उनीहरूले अन्तरिम सरकारलाई खुला आवेदन प्रक्रियामार्फत सबै योग्यता भएका तथा सक्षम नागरिकले आवेदन दिन सक्ने गरी निष्पक्ष नियुक्ति समिति गठन गरी रिक्त भएका आयोगका पदहरूका लागि नयाँ आयुक्तहरू नियुक्ति गर्न पनि अनुरोध गरेका छन् ।