शनिवार, आश्विन १७ गते २०८३

प्रहरीलाई गृहमन्त्रीको प्रश्न– मंगलबार नै पक्राउ गर्न मिल्दैन ?

मंगलवार , आश्विन २१, २०८२

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लगायतलाई आज (मंगलबार) नै पक्राउ गर्न मिल्दैन् भन्दै प्रहरीलाई प्रश्न गरेका छन् ।

भदौ २३ गते भएको जेनजी आन्दोलनमा प्रदर्शनकारीहरूको हत्या भएको भन्दै जेनजी प्रतिनिधिहरूले सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक लगायतलाई पक्राउ गर्न अभियान चलाइरहेका छन् । सोमबार साँझ ‘हामी नेपाल’ समूहका संयोजक सुदन गुरुङसहितको टोली काठमाडौं जिल्ला प्रहरी परिसरमा जाहेरी नै लिएर पुगेका थिए । यद्यपि प्रहरीले उक्त जाहेरी दर्ता गर्न मानेन् ।

यता, जेनजी समूहको दबाब बढ्न थालेपछि प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवास बालुवाटारमा कार्कीले गृहमन्त्री ओम प्रकाश अर्यालसहित सोमबार राति नै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन् । छलफलका क्रममा प्रहरीले जाहेरी दर्ताका लागि केन्द्रीय सुरक्षा समितिको निर्देशन र लिखित आदेश आवश्यक पर्न सक्ने भन्दै आफ्नो धारणा प्रस्तुत गरेको थियो ।

सुरक्षा निकायको ब्रिफिङ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले ओलीविरुद्धको जाहेरी लिनेबित्तिकै धेरै नेता तथा अहिले कायम रहेका अन्य जनप्रतिनिधिहरूविरुद्ध पनि जाहेरी पर्ने र लिनुपर्ने नजिर बस्ने सम्भावना छ ।’ गृहमन्त्री अर्यालले ओली र लेखकसहितलाई तत्काल पक्राउ गर्ने पक्षमा जोडबल गरेका थिए ।

गृह मन्त्रालय स्रोतले भन्यो, ‘उहाँले आज (मंगलबार) नै पक्राउ गर्न मिल्दैन् ? भन्दै प्रहरीलाई प्रश्न गर्नुभएको थियो । तर प्रहरीले यसमा ठोस जवाफ दिएजस्तो लागेन् ।’ यस विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि प्रधानमन्त्री कार्कीसँगको भेटमा गोली चलाउनेलाई नछोड्न भनिसकेको स्रोतको दाबी छ ।

यद्यपि, चारवटै प्रमुख सुरक्षा निकायहरूले देशको अवस्था र शान्ति कायम गर्ने कुरामा संयम अपनाउनुपर्ने ब्रिफिङ गरेका थिए । गृह मन्त्रालय स्रोतका अनुसार आन्दोलनको छानबिन गर्न बनेको पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन कुर्ने कि तत्काल ‘एक्सन’ लिने भन्ने विषयमा निर्णय भइसकेको छैन् ।

स्रोतले थपे, ‘सकेसम्म छिट्टै पक्राउ गर्नेमा मन्त्री आफैँ लागि परेका छन्, उहाँले त मंगलबार नै पक्राउ गर्नुपर्नेमा जोड दिनुभयो तर त्यो हुन सकेको छैन् ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार