काठमाडौं । धनुषामा आफ्नै बाबु र पत्नीबीच अनैतिक सम्बन्ध भएको आशंकामा छोराले उनिहरु दुबै जनाको हत्या गरेका छन् । ससुरा र बुहारीको हत्या गरेर आँप बगैचामा गाडिएको अवस्थामा शव मंगलबार बिहान प्रहरीले फेला परेको थियो ।
मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ स्थित ललिया बस्ने २७ वर्षीय भागेश्वर मण्डलले बुवा ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती २४ वर्षीया अम्बिकादेवी मण्डलको सोमबार राति हत्या गरेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा अनैतिक सम्बन्ध आशंकामा छोराले नै बुवा र श्रीमतीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भागेश्वर गत चैत्रमा वैदेशिक रोजगारीबाट घर फर्केका थिए । घर आएको केही दिन नबित्दै बुवा र श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको आशङ्कामा पती र पत्नीबीच पटक पटक विवाद हुँदै आएको थियो । सोमबार राति पत्नी र बुवा दुबैसँग भागेश्वरको झगडा भएको स्थानीयवासीको भनाइ छ ।
झगडा भएपछि गए रातिदेखि नै ससुरा र बुहारी दुवै बेपत्ता भएका थिए । दुवैको खोजी गर्दै जाँदा शव गाडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना लगतै प्रहरीले भागेश्वरलाई पक्राउ गरी अनुसन्धान गर्दा उनले हत्या गरेर शव गाडेको कुरा स्वीकारेको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।