शहीद श्रीयम चौलागाईंका बुवा गणेश चौलागार्इंले प्रधानमन्त्री सुशीला कार्कीदेखि विभिन्न जेनजी समूह कसैले पनि आफूहरूलाई वास्ता नगरेकोप्रति रोष व्यक्त गरे । चौलागाईंले विभिन्न मन्त्रालयहरूमा पटक–पटक ज्ञापनपत्र बुझाउँदा पनि सरकारबाट माग सम्बोधन नहुँदा आफूहरू पीडित र शहीद परिवारले गहिरो पीडा भोग्नुपरेको गुनासो गरे ।
शहीद परिवार कमल सुवेदीले पटक–पटक शहीद परिवारलाई वर्तमान सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा प्रधानमन्त्री तथा मन्त्रीहरूले भेट समेत नदिएको भन्दै आक्रोश व्यक्त गरे ।
सुवेदीले आफ्ना परिवारका सदस्यहरुको रगतबाट बनेको सरकार र जेनजीहरूले सहानुभूति समेत नदिएको गुनासो गर्दै भने, ‘हामीले हाम्रा परिवारका सदस्य गुमाएका छौं, त्यसैमा टेकेर वर्तमान सरकार बनेको छ, जेनजीहरू विभिन्न समूह बनाउँदै हिँड्छन्, उहाँहरू आ–आफ्नै स्वार्थमा लिप्त हुनुहुन्छ ।’
जेनजी शहीद परिवार संघर्ष समितिले सरकारसमक्ष श्रम तथा रोजगार मन्त्रालयको लागि शहीद विजय चौधरीका दाजु दिपक चौधरी, खानेपानी मन्त्रालयमा शहीद इस्वत अधिकारीको आफन्त भोजविक्रम थापा र युवा तथा खेलकुद मन्त्रालयको लागि शहीद योगेन्द्र न्यौपानेका मामा कमल सुवेदीको नाम सिफारिस गरेको छ । समितिले सो माग ७ दिनभित्र सरकारले सम्बोधन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।