आइतवार, श्रावण २४ गते २०८३

सीमानामा भएको भिडन्तमा मारिए २३ पाकिस्तानी र ९ अफगानी सेना

सोमवार , आश्विन २७, २०८२

काठमाडौँ । पाकिस्तानी र अफगानी सेनाबीच सीमाना भएको गोली हानाहानमा दर्जनौं सेना मारिएका छन्।

शनिबार राति सीमावर्ती खोस्त, पक्तिका, कुनर, नान्गारहार, पक्तिया र हेलमण्ड क्षेत्रमा पाकिस्तानी र तालिवानी सेनाबीच गोली हानाहान हुँदा दुवै पक्षका सेनाहरू मारिएका हुन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पाकिस्तानका २३ जना र अफगानिस्तानका ९ जना सैनिक मारिएका छन्। यो तथ्यांक दुवै पक्षको सेनाका अधिकारीहरूले जानकारी दिएको भनेर रोयटर्सले लेखेको छ।

यद्यपि दुवै पक्षले त्यो भन्दा बढी सेना मारिएको दाबी गरेका छन्।पाकिस्तानले २ सय जना अफगानी सेना मारिएको दाबी गर्दा अफगानिस्तानले ५९ जना पाकिस्तानी सैनिक मारिएको दाबी गरेको छ।

तर यसको स्वतन्त्र पुष्टि नभएको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन्। पाकिस्तान र अफगानिस्तानको सीमानामा दुई देशका सेनाबीच शनिबार भएको गोलिबारीको घटना अफगानिस्तानमा तालिबान आएयताकै ठूलो भनिएको छ। सन् २०२१ देखि तालिबान अफगानिस्तानको सत्तामा छ।

अफगानिस्तानले गत बिहीबार काबुलमा पाकिस्तानले हवाई हमला गरेको आरोप लगाउँदै सीमानामा उनीहरूको सेनामाथि हमला गरेको बताएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार