आइतवार, श्रावण २४ गते २०८३

जेनजी पुस्ताको आन्दोलनपछि देश छाडेर भागे माडागास्करका राष्ट्रपति

मंगलवार , आश्विन २८, २०८२

काठमाडौँ । अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भागेका छन्।

जेनजी पुस्ताले सेप्टेम्बर २५ देखि सुरू गरेको देशव्यापी आन्दोलन चर्किँदै गएपछि उनी देश छाडेर भागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

उनी देश छाडेर भागेको भनेर सोमबार मात्रै पुष्टि भएको थियो। माडागास्करको संसदका विपक्षी नेता, एक सैनिक स्रोत र कुटनितिज्ञले राष्ट्रपति देश छाडेर भागेको पुष्टि गरेका छन्।  

'हामीले राष्ट्रपति कार्यालयका कर्मचारीसँग सम्पर्क गर्दा उहाँले देश नै छाडिसक्नुभएको भन्ने खबर पायौं,' विपक्षी दल नेता सिटेनी रान्द्रियनासोलोनियाइकोले रोयटर्ससँग भनेका छन्।

देश छाडेर भागे पनि राष्ट्रपति राजोएलिना कहाँ छन् भन्ने यकिन छैन। उनले सोमबार राति फेसबुकमार्फत देशवासीलाई सम्बोधन गर्दै आफ्नो ज्यानको सुरक्षाका कारण सुरक्षित स्थानमा जानुपरेको बताएका रोयटर्सले जनाएको छ। उनले आफ्नो ठेगाना भने नखुलाएको तर देश नछाड्ने बताएको पनि रोयटर्सले लेखेको छ।

माडागास्करका एक सैनिक अधिकारीले राष्ट्रपति राजोएलिना आइतबार फ्रान्सेली विमान चढेर देश छाडेको बताएका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार