काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ को विध्वंशात्मक घटना हुन्छ भन्ने पहिले नै जानकार रहेको तर रोक्न नसकेको बताएका छन् ।
नेकपा एमालेको आजबाट सुरु केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पहिले पनि पटकपटक त्यस्ता घटना गराउने प्रयास भएको बताएका छन् । ओलीले भने, ‘यत्रो घटना हुँदा पनि कसरी थाहा भएन भन्नु हुन्छ साथीहरु, पहिलेदेखि नै थाहा थियो । चैत १५ गते यस्तै घटना गराउन खोजिएको थिएन ?’
उनले थपे, ‘उनीहरूको प्रयास निरन्तर भइरहेको थियो । सधैं रोक्ने गरिएको थियो । यसपटक रोक्न सकिएन । थाहा नभएको होइन् ।’ जेनजीले गरेको आन्दोलनको दोस्रो दिन २४ भदौमा ओलीले प्रधानमन्त्रीको पदबाट राजीनामा दिन बाध्य भएका थिए । उनले जेन–जीको माग र आन्दोलन विध्वंश र त्यसपति बनाइएको सरकारसँग नजोडिने भन्दै उनले प्रतिगामीहरूले षड्यन्त्र गरेको चर्चा गरेका छन् ।
ओलीले भने, ‘जेन–जीकै अगुवाहरु अहिले पनि भनिरहेका छन्, संसद् विघटन, सरकार ढाल्नेजस्ता माग हाम्रो थिएन भनेर भनिरहेका छन् । आन्दोलनकै पहिलो दिन दिउँसोबाट आन्दोलन हाइज्याक गरियो भन्ने उनीहरूको भनाइ आइरहेको छ, भएको पनि यही हो ।’