शनिवार, आश्विन १७ गते २०८३

न्यायाधीश क्षेत्रीको इजलासमा महराको थुनछेक बहस सुरु

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा बुधबारदेखि थुनछेक बहस सुरु भएको हो । महराको तर्फबाट सुरुमा अधिवक्ता मुरारी सापकोटा र अधिवक्ता सोम भण्डारीले बहस गरेका छन् । सापकोटाले महरालाई भेपमा सुन छ भन्ने अनुमानको भरमा अभियोजन गरिएको दाबी गरेका छन् ।

उनले भने, ‘कति परिमाणमा सुन जफत भएको हो त्यो अभियोगपत्रमा देखाउन सकेको देखिँदैन, मात्रै अन्दाजको भरमा ९ केजी सुन भेपमा थियो होला भन्ने आधार लिएको देखियो ।’ अधिवक्ता सापकोटाले भने, ‘सुन तस्करीमा अभियोजन गर्दा यति परिणाममा सुन आएको थियो भनेर भन्न सकेको छैन् । कुनै व्यक्तिले सुन थियो भनेको आधारमा मात्रै अभियोजन लिइएको छ, डेढ महिना जफत भएको भेप भन्सार कार्यालयमा राखेर अनुमानको भरमा मात्रै अभियोजन गरिएको छ ।’

सापकोटापछि अधिवक्ता सोम भण्डारीले बहस गरेका थिए । उनले मुद्दा दर्ता गर्न वारदात स्थापित हुनुपर्ने जिकिर गरेका छन् । भण्डारीले भने, ‘अभियोजन गर्न माल बस्तु जफत हुनुपर्छ त्यो देखिँदैन, भेपमा सुन थियो भनेर कथा बुनेको आधारमा मुद्दा दर्ता भएको छ ।’ उनले सुन तस्करीको विषयमा बनेको जाँचबुझ आयोगले दिएको प्रतिवेदनलाई प्रमाणको आधारमा लिन नहुने बताएका छन् ।

महराको तर्फबाट बहस सकिएपछि जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट तीन जनाले बहस गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालयले जाँचबुझ आयोगको प्रतिवेदनको आधार र महराको कल डिटेललाई आधार मान्दा अहिले नै छुट दिन नमिल्ने जिकिर गरेको छ । सुन तस्करीको आरोपित महराको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको समाचार विभिन्न सञ्चारमाध्यममा आएका आधारमा भाग्न सक्ने देखिएकाले पक्राउ गर्नु परेको सरकारी वकिलको कार्यालयले दाबी गरेको छ ।

तीन जना सरकारी वकिलले बहस गरेपछि महराको तर्फबाट जवाफी बहसमा अधिवक्ता चन्द्र गुरागाईँले हचुवाको भरमा महराविरुद्ध अभियोजन गरेको दाबी पेस गरेका छन् । अधिवक्ता गुरागाईँले भने, ‘सुन तस्करीमा महरालाई किन अभियोजन गर्नु परेको हो सरकारी वकिलहरूले स्पष्टसँग राख्न सकेको देखिँदैन, मात्रै जाँचबुझ आयोगको प्रतिवेदन र सुन थियो भनी अन्दाजको आधारमा प्रतिवादी बनाएको छ ।’ तसर्थ महरालाई सामान्य तारेखमा छोड्नु पर्ने उनले बताएका छन् ।

गुरागाईँको बहसपछि वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले जवाफी बहस गरेका छन् । वरिष्ठ अधिवक्ता श्रेष्ठले महराको सुन तस्करीमा कुनै संलग्नता नदेखिएको भन्दै सामान्य तारेखमा छाड्नु पर्ने जिकिर गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार