काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइलले फेरि गजामा आक्रमण गर्न सक्ने बताएका छन्। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनसँगको टेलिफोन कुराकानीमा ट्रम्पले आफूले अनुमति दिएको खण्डमा इसराइलले पुनः गजामा हमासलक्षित सैन्य कारबाही चलाउन सक्ने चेतावनी दिएका हुन्।
इसराइलले हमासमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। सम्झौताअनुसार हमासले ७२ घन्टाभित्र सबै जीवित बन्धक र मृत्यु भएकाहरूको शव फिर्ता गर्नुपर्ने भनिएको थियो।
तर हमासले मृत्यु भइसकेका सबै बन्धकहरूको शव अझै फिर्ता गरेको छैन। सिएनएनका अनुसार हमासले अहिलेसम्म ८ वटा शव इसराइललाई हस्तान्तरण गरेको छ। यद्यपि एउटा शव बन्धकको नरहेको भेटिएको थियो।
हमासले बाँकी मृत बन्धकको शव हस्तान्तरण गर्न समय लाग्ने भनेको छ। उसले बाँकी बन्धकको शव भेटाउनका लागि विशेष उपकरण आवश्यक पर्ने बताउँदै तत्कालका लागि उपलब्ध बन्धकको शव फिर्ता गरिएको बताएको छ।