शनिवार, आश्विन १७ गते २०८३

पार्टीभित्र सम्पूर्ण एकताको खाँचो छ, मूर्खताको होइन : डा. शेखर कोइराला

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा यतिबेला सम्पूर्ण एकताको खाँचो रहेको बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै डा. कोइरालाले यस्तो बताएका हुन् ।

डा. कोइरालाले भने, ‘राष्ट्रको चेतना, ज्ञान र विवेक गुमाएर सामुहिक मूर्खतातर्फ कांग्रेसले आफुलाई अगाडि बढाउन सम्भव नै छैन्, तसर्थ पार्टीभित्र सम्पूर्ण एकताको खाँचो छ । एकतामा नै बल छ भन्ने मुलमन्त्र बिपी कोइरालालगायत संस्थापक र अग्रजहरुले हामीलाई प्रदान गर्नुभएको शिक्षा हो ।’

मुख्य कुरा पार्टीप्रतिको अपनत्वलाई गहिरो गरी कार्यकर्तामा अनुभूति गराउन सके कांग्रेसलाई निर्वाचन लड्न र सरकार बनाउन कसैको सहारा नचाहिने पनि कोइरालाले बताए। ‘प्रश्न उठ्छ के पार्टीको निर्णय प्रणालीमा बस्ने ‘हामी’ आम साथीहरुको भावनालाई बोकेर निर्णय गर्न तयार छौं ? के नागरिकको भावनालाई बोकेर ‘हामी’ सरकार सञ्चालन गर्न तयार  छौं?,’ शेखरले प्रश्न गरे ।

१५औँ महाधिवेशन वाद–विवाद, छलफल र वहस यिनै र यस्तै विषयमा केन्द्रित हुनुपर्ने पनि उनले बताए । उनले अगाडि थपे, ‘नेपाली कांग्रेस एउटा शब्द होइन । यो नेपाली समाजको सभ्यता हो । नेपालको इतिहास हो । लोकतन्त्रको पर्यायवाची हो र नेपालका सबैै जात-जाति, धर्म, सस्कृति, परम्परा र लिङ्गको आन्दोलन हो । अर्थात कांग्रेस नेपाली नागरिकको लोकतान्त्रिक आन्दोलन हो ।’

केन्द्रीय समिति बैठकमा शेखरले ७ बुँदामा आफ्नो धारणा राखेका थिए ।

केछ डा. कोइरालाको केन्द्रीय समिति बैठकमा राखेको ७ बुँदे धारणामा

आदरणीय कार्यवाहक सभापतिज्यू, पदाधिकारी एवं केन्द्रीय सदस्य साथीहरू ।

सर्बप्रथम म जेनजी आन्दोलनको क्रममा मारिएका ती अबोध युवाप्रति र त्यसक्रममा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु जो कर्तव्य पालनाको सन्दर्भमा आफ्नो जीवन गुमाएका छन, तिनीहरु सबै प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।

अझै पनि अस्पतालमा उपचार गराई रहनुभएका जेनजी पुस्ता र अन्य घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै राज्यद्धारा तिनलाई पुर्याउनु पर्ने यथोचित सुविधा र मानवीय संवेदनामा ध्यान पुगोस भनी ध्यानाकर्षण गर्दछु ।

साथै, भाद्र २३ गते राज्यबाट अत्याधिक बल प्रयोग गर्नुको कारण देशले गुमाएका होनहार युवाहरुप्रति न्याय दिन र दोषिमाथि कडा कारबाहीको माग गर्दछु ।

नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवाज्यूद्धारा प्रस्तुत सारगर्भित, भावनात्मक र भविष्यन्मूख प्रेरणदायी मन्तव्यको लागी म हार्दिक आभार प्रकट गर्दछु ।

कार्यवाहक सभापतिज्यू,

देशको यस विषम र अन्यौल ग्रस्त परिस्थितिमा हामीले लिनु पर्ने निर्णयहरुका वारेमा आफ्ना केही कुराहरु संक्षिप्तमा राख्न चाहन्छु ।

१. विश्व परिवेशका सम्बन्धमाः  

आजभन्दा झण्डै पाँच दशक अगाडि दक्षिण एशियामा घटिरहेको असामान्य राजनीतिक हलचलहरुवाट नेपाल जस्ता साना राष्ट्रहरुको अस्तित्व नै खतरामा पर्ने ठानी आठवर्षको प्रवास जीवन त्यागेर विपी कोइराला र गणेशमान सिंह नेपाल फर्कनु भएको थियो ।

देशको अखण्डता, सार्वभौमिकता र स्वतन्त्रताको रक्षार्थ आफ्नो जीवन खतरामा पारी स्वदेश फर्कनु भएको त्यो ऐतिहासिक क्षण आज यसकारण पनि स्मरणीय छ की अहिले फेरि एकपटक दक्षिण एशियाका मुलुकहरुमा ठूला राजनीतिक उथलपुथल र निर्वाचित सरकार अपदस्थ हुनेक्रम शुरु भएको छ । दक्षिण एशियामा मात्र होइन विगत केही वर्ष देखि सम्पुर्ण विश्व राजनीतिमा यस किसिमका नयाँ–नयाँ प्रयोग र अप्रत्याशित घटनाहरु घटिरहेका छन् ।

२. संविधान बारेः

हाम्रो देशमा एउटै पुस्ताले चारवटा राजनीतिक आन्दोलन देख्यो । हामी अगाडिका पुस्ताले राजनीतिक आन्दोलनको नाममा अनेकन् हण्डर, यातना, बलिदान, प्रवास र संघर्षहरु देखे र झेले । संविधानका अनेकन् प्रयोगहरु पनि भए र भइरहेका पनी छन् । यसैक्रममा संविधानसभावाट आम नेपाली जनताको भावना अनुरुप निर्माण भएको वर्तमान संविधान फेरि एकपटक जनताको कठघरामा पुगेको छ ।

सात दशकको प्रयत्न पछि निर्माण भएको वर्तमान संविधान यतिखेर अर्धमूर्छित अवस्थामा छ । यो संविधानको रक्षार्थ हामी कहाँ उभिन्छौँ, भावी राजनीतिक दिशा त्यसैले तय गर्नेछ । मलाई लाग्छ सम्पुर्ण नेपाललाई एउटै अभियानमा भविष्यन्मुखी दिशातर्फ लैजाने बाटो भनेको “घोषित निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण” नै हो ।

निर्वाचनको विकल्प सोच्दा आउने परिणामले हामीलाई युवा पुस्ताबाट मात्र होइन देशको राजनीतिबाट पनि असान्दर्भिक बनाउन सक्छ ।

३. आगामी निर्वाचनका बारेः

नेपाली कांग्रेस मात्र होइन अन्य राजनीतिक दल, सबै पुस्ता, सञ्चार क्षेत्र, सहयोगी देश तथा विकास साझेदार निकायहरू लगायत जेनजी पुस्ता सबैले वर्तमान सरकारलाई निर्वाचनको म्यान्डेट दिएका छन् । यो राष्ट्रिय भावधाराको विकल्प देखिँदैन ।

कांग्रेस जनताको घरदैलोमा पुग्ने यस अवसरलाई उत्साहपूर्वक अग्रिम पंक्तिमा उभिएर आफ्नो गुमेको वा गुम्दै गएको साख र विश्वास जनताबिच पुनस्र्थापित गर्नुपर्दछ । तर आम निर्वाचनको वातावरण बनाउन सरकारले निम्न कुराहरू पूरा गर्नुपर्छ ।

क. स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न भाद्र २३ र २४ गते जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारहरु सरकारको नियन्त्रणमा आउनुपर्छ र त्यसक्रममा जेलवाट भागेका अपराधीहरूलाई पुनः सरकारले युद्धस्तरमा खोजेर नियन्त्रणमा लिई कानुनको कठघरामा ल्याउन ढिलो गर्नु हुँदैन ।

ख. त्रासमा बसेको समाजले निर्वाध निर्वाचनमा सहभागी हुन सक्दैन, तसर्थ समाजमा निर्वाचनको वातावरण बनाउने जिम्मेवारी सरकारको हो। यसतर्फ वर्तमान सरकारको सकृयतामा केही कमी देखिएको छ ।

ग. भाद्र २४ गते जेनजी आन्दोलनको नाममा भएका तोडफोड, आगजनी, लुटपाट र हत्या हिंसा जस्ता कुरालाई कुनै पनि सभ्य समाजले स्वीकार्न सक्दैन। व्यक्तिको घर र सम्पति, राष्ट्रिय सम्पदा, उद्यमी व्यवसायीको घर, व्यापारिक केन्द्र, सरकारी भवनहरुमा भएको आगजनी, लुटपाट र राष्ट्र निर्माणमा योगदान दिने नेताहरुका घरहरुमा भएको आगजनी र बिध्वंशले हाम्रो समाजमा ठुलो घाउ छोडेको छ । यो अपुरणीय क्षति हो ।  त्यस्ता असामाजिक र अपराधी काम गर्ने तत्वको पहिचान गरी तिनलाई प्रचलित कानुन बमोजिम दण्ड नदिएर उन्मूक्ति दिने कार्य कदापी स्वीकार्य हुँदैन, सरकारले यसलाई हेक्का राखोस् ।

४. कांग्रेसले नेतृत्व लिनुपर्ने बारेः

हाम्रो देशको राजनीति र सामाजिक नैतिक स्तरलाई माथि नउठाइ हामी अब अगाडि बढ्नसक्ने अवस्था देखिएन् । यसमा कांग्रेसले अगुवाइ गर्न सक्नुपर्छ । यस सम्वन्धमा सरकार र सरकार सञ्चालनमा जाने दलका पात्रहरूबारे लामो समय देखि नागरिकस्तरवाट प्रश्नहरू उठेका थिए ।

लोकतान्त्रिक सार्वभौम सिद्धान्त र मूल्यपद्धतिलाई जित र हार मात्र होइन प्रतिष्ठाको विषय बनाएर हिँड्यौँ र हामीले नागरिकको आवाजलाई सुनेनौं, परिणामस्वरुप आज यो अवस्थामा आइपुगेका छौं ।

५. नियमित अधिवेशनबारेः

आज कुरा उठेको छ कांग्रेस पार्टी अब कसरी अगाडि बढ्छ भनेर । कांग्रेसबारे यस्तो अपेक्षा राख्ने देश भित्र र बाहिरका हाम्रा शुभचिन्तकहरु मात्र छैनन्, अन्य राजनीतिक दल र कैयन मित्रराष्ट्रहरुले पनि हाम्रा भावी कदमवारे आँखा लगाएर हेरिरहेका छन् । अन्य राजनीतिक दलहरु मंसिरमा अधिवेशन (सम्मेलन) गर्ने प्रक्रियामा जुटिसकेका छन् भने हामी किन सक्दैनौँ ? त्यसकारण म अत्यन्त विनम्रताका साथ यहाँ साथीहरु माझ भन्न चाहन्छु ‘कांग्रेसलाई नयाँ दिशा र नयाँ सम्भावनाको पार्टी’ बनाउने हो भने २०८२ मंसिर महिनामा हाम्रो १५औं महाधिवेशन गर्नुपर्छ । महामन्त्री ज्यूले आगामी मंसिरमै महाधिवेशन गर्नेगरि कार्यतालिका ल्याउनुहुनेछ भन्नेमा म विश्वस्त छु र त्यसमा मेरो पूर्ण समर्थन रहनेछ भन्ने स्पष्ट पार्न चाहन्छु ।

‘विशेष महाधिवेशनको’ सन्दर्भमा उठेका र कांगे्रसभित्रबाट साथीहरूले उत्साहपूर्वक सञ्चालन गर्नुभएको हस्ताक्षर अभियान कांग्रेसमै उर्जा भर्न होे भनी म बुझ्छु । यी सबैैको सम्बोधन र नेतृत्वमा समेत ताजापन नियमित महाधिवेशनवाट मात्र सम्भव छ भन्नेमा म विश्वस्त छु ।

यो ऐतिहासिक जिम्मेवारी आज हाम्रो अगाडि कर्मकाण्डी मात्र भएर आएको छैन् । सहि अर्थमा कांग्रेस देशको परिवर्तनको वाहक र नैतिक ओजले उठेको, युवा, उर्जा र अनुभवी पिढीले संगालेको पार्टी बन्ने विश्वास र भरोसा जगाउनु छ । हामी नियमित अधिवेशनमार्फत यो गर्न सक्छौँ भन्ने मेरो दृढ विश्वास छ । महाधिवेशनबाट आउने परिणामले फागुन २१ गते हुने ‘राष्ट्रिय निर्वाचन’लाई आम जनताबीच कांग्रेसलाई फेरी एकपटक जागृत गराउनेछ ।

हेक्का राख्नुपर्ने कुरा के छ भने हाम्रा अगाडि उभिएका चुनौतिका अनुहारहरू परिवर्तन भएका छन्, यो सामाजिक गतिको स्वभाविक प्रकृया हो । समय सापेक्ष हामी पनि परिवर्तन हुनुपर्छ । त्यो हाम्रो चरित्र र आचरणमा देखिनुपर्छ । अन्यथा हाम्रो नीति र नियम माथि नियतमा रहेको हाम्रो खोटले हामीलाई हराइरहने छ ।

६.कांग्रेस भित्रको एकताबारेः

निःसन्देह यतिबेला कांगे्रस भित्र एकताको खाँचो छ। यो पार्टी एकता निर्णय प्रक्रियामा न्याय स्थापित गरेर मात्र सम्भव हुन्छ । निर्णय प्रकृयालाई पारदर्शी र सबैैमा ‘विन–विन’को भावना विकास गर्नसके सम्भव हुन्छ । यसबारे पार्टी भित्र व्यापक बहस, छलफल र विश्लेषण जरुरी छ ।

आपसी अविश्वास र सन्देहले राजनीतिक विवेक मात्र होइन सामाजिक विवेक पनि समाप्त हुन्छ । यो संस्कृतिको अन्त नै ‘राष्ट्रको दिशा र कांग्रेसको भविष्य’ हो । एकताबद्ध कांग्रेस, बलियो कांग्रेस र समयसापेक्ष परिवर्तन कांग्रेस आजको आवश्यकता हो ।

७. अनुशासन समितिबाट कारबाहीको सिफारिस सम्बन्धमाः

२०७९ सालमा नेपाली कांग्रेस र अन्य दलहरुसँग भएको गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उजुरीका आधारमा या विद्रोही उम्मेदवार उठेको कारणबाट अनुशासन समितिबाट कारबाहीको सिफारिस भएका सबैलाई वर्तमान राजनैतिक परिस्थितिमा उक्त कारबाही फिर्ता गर्न माग गर्दछु । सबै नेता कार्यकर्ता साथीहरू एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेकोले हाललाई सबै कारबाही फिर्ता गरी एकताका साथ संगठन निर्माणमा लाग्न निर्देशन दिने र बिभिन्न समयमा कारणबस कांग्रेसको मुलप्रवाहवाट वाहिरिएका सबैै साथीहरुलाई राष्ट्रको साझा भविष्य निर्माण गर्न कांग्रेसको मुलधारमा आउने आहन होस भनी म यहाँ प्रस्ताव राख्छु ।

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्र हुनसक्छ भन्ने हाम्रो पार्टीको मूलभूत सिद्धान्त मात्र होइन, यो हाम्रो जीवन पद्धति पनि हो । आम नेपालीहरुले अपनाएको संस्कृति पनि त्यही हो ।

अन्त्यमा,

राष्ट्रको चेतना, ज्ञान र विवेक गुमाएर सामुहिक मूर्खतातर्फ कांग्रेसले आफुलाई अगाडि बढाउन सम्भव नै छैन् । तसर्थ, पार्टीभित्र सम्पूर्ण एकताको खाँचो छ । एकतामा नै बल छ भन्ने मुलमन्त्र बिपी कोइरालालगायत संस्थापक र अग्रजहरुले हामीलाई प्रदान गर्नुभएको शिक्षा हो ।

मुख्य कुरो पार्टीप्रतिको अपनत्वलाई गहिरो गरी कार्यकर्तामा अनुभूति गराउन सके हामीलाई निर्वाचन लड्न र सरकार बनाउन कसैको सहारा चाहिँदैन् । प्रश्न उठ्छ के पार्टीको निर्णय प्रणालीमा बस्ने ‘हामी’ आम साथीहरुको भावनालाई बोकेर निर्णय गर्न तयार छौं ? के नागरिकको भावनालाई बोकेर ‘हामी’ सरकार सञ्चालन गर्न तयार  छौं ?

१५औँ महाधिवेशन वाद-विवाद, छलफल र वहस यिनै र यस्तै विषयमा केन्द्रित हुनुपर्छ ।

नेपाली कांग्रेस एउटा शब्द होइन । यो नेपाली समाजको सभ्यता हो । नेपालको इतिहास हो । लोकतन्त्रको पर्यायवाची हो र नेपालका सबैै जात-जाति, धर्म, सस्कृति, परम्परा र लिङ्गको आन्दोलन हो । अर्थात कांग्रेस नेपाली नागरिकको लोकतान्त्रिक आन्दोलन हो । जय नेपाल

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार