काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्न सबैलाई अपिल गरेकी छिन् ।
नेपाल संवत् ११४६ को अवसरमा ललितपुरको मंगलबजारमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध भएको बताइन् ।
उनले निर्वाचनमा सचेत नागरिकको भूमिका निर्वाह गर्न अपील गरिन् । ‘सरकारसँग नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको छ । यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका हुन्छ । आउनुहोस्, यसमा सहाकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौं,’ उनले भनिन् ।
‘लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध छ’, प्रधानमन्त्री कार्कीले बताइन् ।
उनले सबै राजनीति दल, वर्ग, समूहको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको बताएकी छिन् । प्रधानमन्त्री कार्कीले नेपाल संवत्का प्रवर्तक शंखधर सास्ख्वा एक व्यापारी भए पनि नाफा कमाउने व्यापारी मात्र नभएर एक महान् समाजसेवी र लोककल्याणकारी व्यक्तित्व भएको चर्चा गरिन् ।
नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक हो । यसका प्रवर्तक शंखधर साख्वा एक व्यापारी हुनुहुन्थ्यो । तर, उहाँ केवल नाफा कमाउने व्यापारी मात्र नभएर एक महान् समाजसेवी र लोककल्याणकारी व्यक्तित्व हुनुहुन्थ्योु, उनले भनिन् ।