उनले भने, ‘विगतको इतिहासको कालखण्ड जस्तै फेरि नेपाली कांग्रेसबाट अपेक्षा र आशा गरेको छ । त्यसकारण हाम्रा विगतमा भएका कमी–कमजोरीहरूलाई स्वीकार गर्दै नेपाली कांग्रेस संविधानको रक्षा, परिवर्तनको रक्षा र जनताको अधिकारको रक्षाको लागि बृहत् एकतासहित हामी अगाडि बढ्छौं ।’
तरुण दलको झण्डा बोकेर लोकतन्त्र र जनताको अधिकारको रक्षाका लागि एकपटक फेरि संगठित र एकताबद्ध हुनुपर्ने भन्दै उनले नेपाली कांग्रेस एउटा नयाँ संकल्प, उत्साह र ऊर्जासहित अगाडि बढ्नका लागि तयार रहेको बताए ।
उनले भने, ‘तरुण दलको झण्डा बोकेर मुलुकको रक्षा, लोकतन्त्र र जनताको अधिकारको रक्षाको लागि हामी एकपटक फेरि संगठित र एकताबद्ध भएर देशभरका तरुणहरूलाई आह्वान गर्दै तयार हुन्छौं र एउटा नयाँ संकल्प, उत्साह र ऊर्जासहित हामी अगाडि बढ्नको लागि तयार छौं भन्ने सन्देश पनि देशभरका तरुणहरूले दिन जरुरी छ ।’
भदौ २३ र २४ गतेको घटनाले देशलाई प्रतिकूल अवस्थामा पुर्याएको पनि उनको भनाइ छ । उनले भने, ‘भदौ २३ गते ३ वटा माग राखेर जेनजी युवाहरूले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा धेरै युवाहरूले ज्यान गुमाउनुपर्यो । २४ गते देशैभर ठूलो भौतिक र मानवीय क्षति भयो, नेपालको इतिहासमा पहिलोपटक देशको कार्यपालिका माथि आक्रमण भयो र ध्वस्त बनाइयो । त्यो घटनाले देशलाई प्रतिकूल अवस्थामा पुर्याएको छ ।’