शनिवार, आश्विन १७ गते २०८३

दल दर्ताको प्रमाणपत्र पाएपछि साम्पाङले भने– गफले मात्रै रोजगारी सिर्जना हुँदैन

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाकाका प्रमुख (मेयर) हर्क साम्पाङको गफले मात्रै रोजगारी सिर्जना नहुने बताएका छन् ।

आइतबार निर्वाचन आयोगले श्रम संस्कृति पार्टीलाई दिएको मान्यताको प्रमाणपत्र बुझ्दै उनले यस्तो बताएका हुन् । उनले रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनुपर्ने बताएका छन् । श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक रूपान्तरण र आर्थिक रूपान्तरणको लागि फिल्डमा खटेर काम गर्ने उनको भनाई छ । उनले उत्पादन बढाउन नसक्दा प्रायः नेपाली बेरोजगार हुनुपरेको बताएका छन् । उनले देश आफैँले बनाउने मौलिक शैली अपनाउने उल्लेख गरेका छन् ।

देश विदेशी ऋणले मात्रै नचल्ने बताउँदै उनले देश अब नेपाली आफैँले बनाउनुपर्नेमा जोड दिएका छन् । उनले गरिबी, अभाव र यसकै कारणले हुने विभिन्न खालका ठगी, भ्रष्टाचार, बेइमानीलाई अन्त्य गर्ने बताएका छन् । उनले भने, ‘जुन काम आजसम्म भएन, यत्तिका वर्षसम्म । त्यो काम गर्ने हो । उत्पादन, निर्माण, सामाजिक रुपान्तरणका लागि, आर्थिक रूपान्तरणको लागी हामी अब फिल्डमा निस्केर काम गर्छौँ । अफिसमा बसेर भाषणमा सीमित हुँदैनौँ । हामी चाहिँ पक्का फिल्डका काम गर्ने एउटा सङ्गठन निर्माण गर्दै छौँ । पहिला त यो देशमा काम गर्नुपर्छ । उत्पादन बढाउनुपर्छ ।

उनले थपे, ‘प्रायः हामी सबै बेरोजगार छौँ । रोजगारीको सिर्जना गफले हुँदैन । विदेशी ऋणले नि चल्दैन यो देश । त्यसले गर्दाखेरि यो देश अब हामी आफैँले बनाउनुपर्छ भन्ने हाम्रो मौलिक शैली छ । ती शैलीलाई हामीले बिर्सियौँ । त्यो मौलिक शैलीहरूलाई पनि हामीले फेरि उजागर गर्छौ ।’ उनले आफूहरूले दलको झण्डा नराख्ने बताएका छन् । दलको चुनाव चिन्ह भने माटोको ढिस्को राखिएको छ ।

लोकतन्त्रमा विश्वास राख्ने भएकोले आवधिक निर्वाचनमा पार्टीले भाग लिने उनको भनाई रहेको छ । निर्वाचनको लागि तयारी पनि भइरहेको उनले जानकारी दिएका छन् । उनले परम्परागत राजनीतिक दलजस्तो आफ्नो पार्टी नहुने पनि दाबी गरेका छन् । उनले हरेक टोलमा पार्टीले काम गर्ने श्रमदाता बनाउने बताएका छन् ।

निर्वाचन आयोगले साम्पाङको पार्टीलाई आइतबार (आज) मान्यता दिएको हो । साम्पाङले आज आयोगमा पुगेर पार्टीको मान्यताको प्रमाणपत्र लिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार