शनिवार, आश्विन १७ गते २०८३

मंसिर २७ गते नेपालको इतिहासकै ठूलो जनसभा काठमाडौंमा आयोजना गर्दैछौं : शंकर पोखरेल

सोमवार , कार्तिक १७, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले जनसभा आयोजना गर्न लागेको जानकारी गराएका छन् ।

पोखरेलले आफ्नो पार्टीले गर्ने उक्त जनसभा नेपालको इतिहासकै सर्वाधिक ठूलो हुने दाबी गरेका छन् । प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । प्रमुख राजनीतिक दलबाट जनता अलग भइसके भन्ने भाष्य निर्माण गर्न खोजिएको र त्यो गलत छ भन्ने सावित गर्नका लागि आफूहरूले जनसभा गर्न लागेको उनले बताएका छन् ।

उनले भने, ‘जनता प्रमुख दलबाट अलग भइसके भन्ने अहिले जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यो गलत हो भन्ने कुरा सावित गर्ने हिसाबले जनसभा गर्न लागेका छौं ।’ यसअघि बसेको सचिवालय बैठकले देशभरका विभिन्न आन्दोलनका कार्यक्रमहरू गर्ने निर्णय गरेको थियो । जस अनुसार, एमालेले यही कात्तिक २२ गते देशैभरी सबै वडामा वडास्तरी जनभेला, २५ गते पालिकामा जन र्‍याली, २९ गते जिल्लामा जनसभा र मंसिर ६ गते उपत्यकास्तरीय र्‍याली तथा सभाको आयोजना गर्ने जानकारी गराएका छन् ।

उनले थपे, ‘२७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा काठमाडौंमा आयोजना गर्दैछौं । हामी देखाउन चाहन्छौं, जनता कसको साथमा छ । जनता कहिले पनि हिंसा, अराजकता र लुटपाटको साथमा हुन सक्दैन् ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार