काठमाडौँ । कांग्रेसभित्र फागुन २१ को निर्वाचनभन्दा अघि नै महाधिवेशन र चुनावपछि महाधिवेशन गर्नुपर्ने विषयमा विवाद र बहस चर्किएको छ। संस्थापन पक्षले चुनावपछि महाधिवेशन गर्नुपर्ने अडानमा छ । त्यस्तै संस्थापनइतर पक्ष निर्वाचन अघि महाधिवेशन हुनुपर्ने माग गरिरहेको छ ।
खास गरी महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले मंसिरभित्रै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने अडान लिएका छन्। उनीहरूले मंसिरमा नसकिने अवस्थामा पुसमा सम्पन्न गर्न सकिने प्रस्ताव गरेका छन्। उनीहरूले नियमित महाधिवेशन गर्न नसके विशेष महाधिवेशनको तालिका पनि जारी केन्द्रीय कार्यसमितिमै पेस हुनुपर्ने अडान लिएका छन्।
तर, संस्थापन पक्षले भने संस्थापन इतर पक्षलाई काउन्टर दिएको छ । सोमबारमात्रै संस्थापन समूहका केन्द्रीय सदस्यहरूको भेला काठमाडौँमा थियो। काठमाडौँको आनन्दभूमि बैंक्वेटमा बसेको भेलाले पार्टीको १५औं महाधिवेशनको लागि नयाँ मिति प्रस्ताव गर्ने निर्णय गरेको छ।
केन्द्रीय सदस्य गुरु बरालका अनुसार आजको भेलाले ७ वटा निर्णय गरेको छ। ‘प्रतिनिधि सभाको निर्वाचनपछि पार्टीको १५औँ केन्द्रीय महाधिवेशन वैशाख २५, २६, २७ र २८ गते गर्ने,’ उनले भने, ‘समानुपातिक र राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरू पार्टीका वर्तमान र पूर्वपदाधिकारीबाहेक हालसम्म कुनै अवसर नपाएकाहरूमध्येबाट बनाइनुपर्ने निर्णय बैठकले गरेको छ।’