काठमाडौं । गएराति सम्पन्न खेलमा स्पेनलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो ।
अब इटालीले उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । वेम्बलीमा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा इटालीले बाजी मार्यो ।
पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे । स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे ।
पेनाल्टीमा खेल जानु अघि दुबै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा भने इटालीले सुरुवाती अग्रता बनाएको थियो ।
खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । खेलको ८० औं मिनेटमा परिवर्तित खेलाडी अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा फर्काए ।
यस जितसँगै इटाली ३३ खेलमा अपराजित रहन सफल भएको छ । इटालीले यस अघि ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो ।
इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो । एजेन्सी