शनिवार, आश्विन १७ गते २०८३

अध्यक्ष विप्लव भन्छन्– जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले जनयुद्ध जस्तै जेनजी विद्रोह पनि तुहिने खतरा बढेको बताएका छन् ।

जनताको अवस्था परिवर्तनका लागि लडेको तर जनयुद्धबाट त्यो पार नलगेको भन्दै उनले अहिले जेनजी विद्रोह पनि तुहिन खतरा बढेको बताएका छन् । सर्वपक्षीय सरकारको माग गर्दै काठमाडौंमा प्रदर्शनपछिको सभामा बोल्दै अध्यक्ष विप्लवले भने, ‘हामीले जेनजी युवाहरूलाई धन्यवाद दिनुपर्छ, हाम्रो पार्टीले लडेकै हो तर हाम्ले पार लगाउन सकेका थिएनौं, विभिन्न क्षेत्रबाट लडेका थिए जनताहरू तर जनताले पार लगाउन गाह्रो भएको थियो, जनयुद्ध बीचमै तुहिएको थियो त्यसलाई पार लगाउन सकेको थिएन ।’

उनले शासकको अहंकारले जेनजी विद्रोह विस्फोट भएको बताएका छन् । उनले भने, ‘भ्रष्टचारहरूले अटेर गर्दै नसुनेपछि, मुर्खता गर्दैगएपछि, जनतालाई यी केही पनि होइनन् जे गरे पनि हुन्छ भन्ने ठान्न थालेपछि , प्रशासन छ, राज्य छ, डण्डा छ, बन्दुक छ, जेल, कानुन छ भनेर मनपरी गरेपछि जेनजी विस्फोट भयो ।’ जेनजी कुनै पार्टी नभएको बताउँदै विप्लवले पार्टीले गर्न नसकेको काम जेनजीले गरेको भन्दै सबैले धन्यवाद दिनुपर्ने बताएका छन् ।

जेनजी विद्रोहले मुलुक नयाँ मोडमा आइपुगेको बताउँदै उनले नेपालमा संसदीय व्यवस्था नराम्रोसँग असफल भएको बताएका छन् । उनले भ्रष्टाचारको अन्त्य, संसदको विघटन, नयाँ संविधानको पुर्नलेखन, प्रत्यक्ष कार्यकारीको निर्वाचनको माग राख्दै जेनजीहरूले नारा लगाइरहँदा आफ्नो पार्टीले पनि पहिलो दिनदेखि नै समर्थन जनाएको बताएका छन् ।

तर, आन्दोलनको दुई दिन पछि बनेको अन्तरिम सरकार हेर्दा जेनजी विद्रोह तुहिने खतरा देखिएको उनको आरोप छ । उनले भने, ‘जब जेनजीहरू संगठित प्रक्रिया पूरा भइरहेको थिएन नेपालमा जेनजी विद्रोह फेरि असफलतातिर जाने संकेत देखिएको छ, लगभग यदि नयाँ पुस्ताले तुरन्त नयाँ नयाँ कदम चाल्ने स्थिति भएन भने, नेपालका सबै श्रमिक जनताले जेनजीसँग तालमेल मिलाएर अधुरो कामलाई पूरा नगर्ने हो भने लगभग जनयुद्धकै हालतमा, त्यो भन्दा पनि खराब स्थितिमा जेनजी विद्रोह पुग्दैछ ।’

माओवादी जनयुद्ध पछिको परिवर्तनलाई दलालहरूले कब्जा गरेको भन्दै विप्लवले जेनजी विद्रोहपछिको नेपाललाई विदेशी दलालले कब्जा गर्न खोजेको आरोप लगाएका छन् । जेनजी युवाहरूलाई व्यवस्थित भएर लड्न विप्लवको आग्रह छ ।

जेनजी विद्रोहपछिको अवस्थामा पनि राज्य संयन्त्र प्रयोग गरेर मुलुकमा केही हुँदैन भन्ने भ्रम फिजाँउन खोजिएको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार