काठमाडौं । पुराना राजनीतिक दलहरूका गठबन्धनहरूमाथि आलोचनात्मक दृष्टिकोण राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी आफैंले भने आगामी चुनावका लागि अन्य राजनीतिक दल र संगठनहरूसँग चुनावी गठबन्धन गर्न सकिने प्रस्ताव अघि सारेको छ ।
सौराहामा आयोजित पार्टीको विस्तारित बैठकमा कार्यवहाक सभापति डिपी अर्यालले पेश गरेको राजनीतिक प्रतिवेदनमा गठबन्धन गर्न सक्ने प्रस्ताव ल्याएका हुन् । यस्तो गठबन्धन रास्वपाको मौलिक पहिचान गुम्नेगरी चाहिँ बनाउने नहुने उनको अवधारणा छ । कार्यबाहक सभापति अर्यालको प्रतिवेदनमा छ, ‘नयाँ र आधारभूत सैद्धान्तिक सवालमा मिल्ने स्वतन्त्र व्यक्ति, समूह, राजनीतिक पार्टीहरूसँग निर्वाचनमा र निर्वाचनपछि सरकार गठनमा सहकार्य तथा गठबन्धन गर्न सकिनेछ भन्ने कुरा खुला राखिएको छ । तर, गठबन्धनका नाममा रास्वपाको पहिचानमा छायाँ पर्न दिइने छैन् ।’
प्रतिस्पर्धी दलहरूको आलोचना मात्र नगरी, आफ्ना नीति, कार्यक्रम र दृष्टिकोणलाई सकारात्मक तरिकाले प्रस्तुत गर्नुपर्ने उनले उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘चुनावमा गठबन्धन गर्ने कि एक्लै लड्ने भन्नेबारे स्पष्ट रणनीति बनाउनुपर्छ । यसका फाइदा र बेफाइदाहरूको गहिरो विश्लेषण आवश्यक हुन्छ । कहिलेकाहीँ गठबन्धनले पार्टीको मौलिक पहिचान गुम्ने खतरा पनि रहन्छ ।’
जनतासँगको संवादमा पारदर्शिता कायम गर्नुपर्ने प्रतिवेदनमा छ । ‘पार्टीका हरेक गतिविधि र निर्णयबारे जनतालाई सुसूचित गर्नुपर्छ । अब ‘आलोचना होइन, योजना’ भन्ने नाराका साथ अभियान सञ्चालन गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ । मूलधारका मिडिया र सामाजिक सञ्जाल दुवैमा पार्टीको उपस्थितिलाई सशक्त बनाउनुपर्ने उनको धारणा छ ।
आफूलाई निर्विकल्प शक्तिको रुपमा उभ्याई किसान, मजदुर, युवा तथा महिलाहरू लगायत आम नेपाली जनताको समस्या हल गरी समृद्धिको यात्रालाई रफ्तारमा कुदाउन रास्वपाले समान विचार, उद्देश्य, कार्यशैली भएका अन्य साना दल, समूह वा स्वतन्त्र व्यक्तिलाई एकताबद्ध गरी नयाँ राजनीतिक ध्रुवीकरणको पहल गरिरहेको पनि उनले जानकारी दिएका छन् ।
विगतका कमीकमजोरीबाट पाठ सिक्दै आफ्नो शक्ति र कमजोरीको यथार्थपरक विश्लेषण गरी राजनीतिक, सामाजिक, आर्थिक र प्राविधिक पक्षका सानाभन्दा साना विषयलाई ध्यानमा राखेर चुनावी तयारी गर्नुपर्ने रास्वपाको धारणा छ ।
‘आउँदो चुनावमा हामीले उत्साहजनक र नेतृत्वदायी परिणाम ल्याउन सकेनौं भने देशले पुरानै दलहरूको कुशासनको भारी खेप्नुपर्छ भने तिनले जेनजी आन्दोलनको म्यान्डेट र जनताको भावना विपरीत मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्नेछन्,’ उनले भनेका छन् ।
आउँदो चुनाव प्रतिगामी र अग्रगामीबीचको निर्णायक संघर्ष रहेकाले चुनावी तयारी र परिणाममा कुनै पनि कोणबाट कमजोर हुने छुट आफूहरूलाई नरहेको उनले उल्लेख गरेका छन् ।