काठमाडौं । शिक्षक, प्राध्यापक र कर्मचारी राजनीतिक दलमा संलग्न भए सरकारले कारबाही गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले गम्भीर ध्यानकर्षण गराउदै दलमा संलग्न भएको पाइएमा कारबाही गर्ने बताएका हुन् । ध्यानकर्षण पत्रमा भनिएको छ, ‘आफ्नो पेशागत कर्तव्य, नैतिक दायित्व, आचरण, शिक्षा क्षेत्रको संवेदनशीलता र विद्यालय वा विश्वविद्यालय शान्ति क्षेत्रको मर्म विपरीतका क्रियाकलाप गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गर्न मन्त्रालयले कुनै कसर बाँकी नराखे समेत जानकारी गराउँदछु ।’
शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको मन्त्री पुनको दाबी छ । मन्त्री पुनले भनेका छन्, ‘कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदावाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन् र राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट वर्खास्त गर्न सकिने सम्मको कानूनी कारवाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछु ।’
शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ सङ्गगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय भएको मन्त्री पुनले जनाएका छन् । उनले भनेका छन्, ‘संघ सङ्गठनहरुलाई गैर राजनीतिक चरित्रको, स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउने प्रयोजनार्थ सोही बमोजिमको कानूनी प्रबन्धसहित पुनर्गठन गर्न आह्वान गर्दछु ।’