काठमाडौँ । भारतको राजधानी दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेसननजिकै सोमबार साँझ विस्फोट हुनुअगाडिको सीसीटीभी फुटेज प्रहरीले प्राप्त गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार साँझ ६:५२ बजे एउटा गुडिरहेको कारमा शक्तिशाली विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
उक्त विस्फोट हुनुभन्दा ठीक अगाडिको सीसीटीभी फुटेज सार्वजनिक भएको हो। जसमा सेतो एल-२० कार पार्किङबाट निस्किरहेको देखिन्छ। यो आतंककारी डा. मोहम्मद उमरको भएको आशंका गरिएको छ।
प्रहरीले उमर फरिदाबाद मोड्युलको हिस्सा हुन सक्ने बताएको छ। हालै जम्मु-कश्मीर प्रहरीले हरियाणाको फरिदाबादबाट लखनउसम्म अपरेसन सञ्चालन गरेको थियो र २९०० किलोग्राम विस्फोटक पदार्थ बरामद गरेको थियो।
यस अपरेसनमा फरिदाबादका डा. मुजम्मिल सकिल र लखनउकी महिला डाक्टर साहिन साहिदलाई पक्राउ गरिएको थियो।