काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले सुमना श्रेष्ठ र जेनजी प्रतिनिधि भनेर चिनिएका हामी नेपाल अभियानका संयोजक सुदन गुरुङसँग छलफल गरेका छन् ।
मंगलबार बिहान उनले आफ्नै निवासमा उनीहरूसँग छलफल गरेका हुन् । घिसिङकै नेतृत्वमा नयाँ दल गठनको लागि श्रेष्ठ लामो समयदेखि सक्रिय भएकी थिइन् । तर, मन्त्री पदमा रहेकाले घिसिङले तत्काल आफ्नो नेतृत्वमा दल दर्ता नगरी फागुन २१ गतेका लागि तय भएको चुनावकै छेकोमा मात्र दलमा सहभागी हुने बताएका थिए ।
सोही अनुसार उनले पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा दल दर्ताका लागि आयोगमा निवेदन दिन तयारी गरेका थिए । तर, घिसिङको नेतृत्वमा दल दर्ता नहुने हो भने सामूहिक नेतृत्व हुनेगरी दल दर्ता गर्न श्रेष्ठले सुझाव दिएकी थिइन् । उनको सुझाव कार्यान्वयन गर्न छलफलमा रहेकाहरू तयार नभएपछि सोमबार विहान उनले घिसिङलाई शुभकामना दिँदै दल दर्तामा सहभागी नहुने बताएकी थिएन् ।
यसपछि घिसिङले श्रेष्ठसँग छलफल गरेको उनी निकट स्रोतले जानकारी दिएका छन् । उनले भने, ‘आज विहान सुमना जी, सुदनजी लगायतसँग मन्त्रीज्यूको छलफल भएको छ, दल दर्ता गर्न उहाँ आफैँ जाने कि भन्ने छ तर, राजीनामा दिएर जाने कि नदिएर भन्ने निश्चित भइसकेको छैन् ।’ यदि घिसिङ स्वयं आयोग गएर दल दर्ता गराउने अवस्था बने श्रेष्ठ र गुरुङ लगायत सबै आउने उनले बताएका छन् ।
सोमबार दिनभरसम्म पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाएर उज्यालो नेपाल नाम दर्ता गर्ने तयारी थियो । तर, त्यसमा सुमना श्रेष्ठले सहमति जनाएकी थिइनन् । उनले शुभकाना दिँदै प्रक्रियाबाट बाहिरिएपछि घिसिङले बोलाएर छलफल गरेका हुन् । सुदनले भने नयाँ दलमा राख्ने आफ्ना ६ जना प्रतिनिधिको नाम दिइसकेका छन् ।
निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधि सभा चुनावका लागि कात्तिक ३० गतेसम्म दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समय–सीमा तोकेको छ ।