काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवादले विभाजनसम्मको अवस्था ल्याउनसक्ने चेतावनी दिएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमित वा विशेष महशाधिवेशनबारे पार्टी केन्द्रीय समिति बैठकले निर्णय गर्न नसके पार्टी विभाजनको अवस्था आउनसक्ने चेतावनी दिएका हुन् । उनले पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै ५५ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भइसकेको बताउँदै नेता कोइरालाले उक्त हस्ताक्षर प्रमाणीकरणको प्रक्रिया शुरु हुने दिनदेखि नै कांग्रेस विभाजनको सम्भावना रहेको बताएका छन् ।
उनले भने, ‘विशेष महाधिवेशनको माग गर्ने ५५ प्रतिशत साथीहरू जो हुनुहुन्छ । त्यसमा हस्ताक्षर प्रमाणीकरण शुरु गरेको दिनदेखि नै विभाजन हुने सम्भावना हुन्छ, ४० प्रतिशत मात्रै पुगेर महाधिवेशनमा गयौं भने पनि विभाजन त भयो नि । बाँकी ६० प्रतिशत विभाजित हुने सम्भावना देखियो ।’
केन्द्रीय समिति बैठकले नै निष्कर्ष निकाल्नुपर्ने उनको भनाइ छ । बहुमत हस्ताक्षरको बलमा महाधिवेशन हुनेमा शंका नरहेपनि पार्टी एकता जोगाउन केन्द्रीय समितिकै बैठकबाट महाधिवेशनसम्बन्धी निर्णय लिनुपर्नेमा उनले जोड दिएका छन् ।
डा. कोइरालाले भने, ‘मैले केन्द्रीय समितिको बैठकले नै निर्णय गर्यो भने शतप्रतिशत महाधिवेशनकै पक्षमा हुन्छन् भनेर त्यँहीबाट निर्णय गरौं भन्ने मेरो मान्यता हो, ५५ प्रतिशत हस्ताक्षर जुन भएको छ त्यसमा कुनै शंका गर्नुपर्ने ठाउँ छैन् । बाध्यात्मक हुन्छ ।’
उनले थपे, ‘तर पार्टी विभाजनतिर नजाओस भनेर हामीले केन्द्रीय समिति बैठकबाटै निर्णय खोजेका हौं ।’