काठमाडौं। बङ्गालको खाडीमा विकसित न्यूनचापीय रेखा नेपालतिर सर्दै आएको र अरेबियन सागरको समेत जल वाष्प मिसिएकाले नेपालमा पुन: मनसुन सक्रिय भएको छ। यो पटकको भदौरे झरी तराई केन्द्रित भएकाले त्यस क्षेत्रमा डुबान र कटान हुने खतरा बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तराईमा केही दिन अधिक भारी वर्षाको सम्भावना रहेको छ भने, विशेषगरी लुम्बिनी आसपास तराईका जिल्लामा लगातारको वर्षा केही दिनदेखि नै भइरहेको छ। यस्तै, पहाडका केही भूभागमा पनि भदौरे झरीसहितको भारी वर्षा हुने सम्भावना छ। त्यसले बाढी र पहिरो निम्त्याउन सक्ने भएकाले सतर्क रहन भनिएको छ।
गण्डकी, बागमती तथा सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षाको आकलन गरिएको छ।केही दिनयताको मनसुनी सक्रियताले देशका धेरै स्थानमा एक सय मिलिमिटरभन्दा बढी पानी परेको रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भदौरे झरीका कारण कोसी, नारायणीलगायतका ठूला तथा साना नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले अनुमान गरेको छ। त्यस्तै पहाड हुँदै बग्ने कर्णाली, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकीलगायतका नदीको बहाव पनि सतर्कता तहभन्दा माथि हुने जनाइएको छ। तराई छोएका कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, राप्ती, बबईलगायतका ठूला नदीमा बहाव बढ्दा त्यहाँका बस्ती डुबानमा पर्ने सम्भावना रहेको औँल्याइएको छ।